यथास्थितिको लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार १५ । मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने।

‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् ।

यो निर्णयअनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका हवाई उडान बन्द हुनेछन् । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो।

तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।

‘एसएमएस’ अनिवार्य

लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

प्रकाशित मिति June 29, 2020
Loading...