बन्दीपुर सिल, तनहुँमा १२४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, असार १६ । तनहुँमा थप पाँच जनामा कोरोना भाईरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन् । यो सँगै जिल्लामा मङ्गलबार सम्ममा सङ्क्रमितको सङ्ख्या १२४ जना पुगेको छ ।

मङ्गलबार व्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा सङ्क्रमण पुष्टि भएसँगै उक्त सङ्ख्या पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । यसैगरी कोरोनालाई जितेर निकोे भई घर फर्किनेको सङ्ख्या तनहुँका विभिन्न स्थानहरुमा १६ पुगेको छ ।

बन्दीपुर गाउँपालिका सिल

यसैबीच, तनहुँँको बन्दीपुर गाउँपालिकाले आफ्नो क्षेत्रमा असार १६ देखि २२ गते सम्म बन्दाबन्दी थप गरेको छ । स्वास्थ्य सेवा निर्देशानालय गण्डकी प्रदेश पोखराको पिसिआर रिपोर्ट अनुसार बन्दीपुरका थप नौ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएकोले सङ्क्रमण पैmलन नदिन सिल गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

एकसय एकजनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा अस्पतालका कर्मचारी र सुरक्षाकर्मी चारजना र क्वारेन्टाइनमा रहेका पाँचजना गरी नौ जनामा सङ्क्रमण देखिएकाले बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

समुदायमा थप सङ्क्रमण फैलन सक्ने स्थितिलाई मध्यनजर गर्दै बन्दाबन्दी थपिएको अध्यक्ष थापा बताउनुहुन्छ । यसअघि पनि गाउँपलिकाले एक साताको लागि बन्दाबन्दी थप गरेको थियो । बन्दीपुरमा कोराना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ ।

प्रकाशित मिति June 30, 2020