नेकपा फुट्नै लागेको हो ? महासचिव पौडेल भन्छन् – २०० प्रतिशत पार्टी फुट्दैन

काठमाडौं, असार १८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताहरुले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।

स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरु त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । पार्टीभित्रको अन्तरविरोध साम्य हुनुको साटो झन् झन् चर्किएको छ ।

अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका ३० जना सदस्य प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवाद झनै चुलिएको छ । ओलीले संसदीय दलमा ४० प्रतिशत संख्या भए दल फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेको अर्को पक्षको दाबी छ । विद्यमान कानूनअनुसार पार्टी विभाजनले मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत चाहिन्छ ।

बुधबार साँझ प्रचण्ड र नेपाल पक्षका ३० जना स्थायी कमिटी सदस्य झम्सिखेलमा भेला भएका थिए । सो भेलाले ओलीले दुबै पद छाड्नुपर्ने नेताहरुको माग अनुमोदन मात्र गरेन, पार्टीको निर्णय मान्छु भनेर आए मात्रै प्रधानमन्त्रीसँग वार्ता गर्ने शर्त राख्यो ।

त्यसको काउन्टरमा प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाए । संघीय संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्रीको तयारी थाहा पाएपछि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले टेलिफोनमा सम्वाद गरे । मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिने सहमति भएपछि प्रचण्डले बैठक सुरु गरे । केशव बडाल र अमृत बोहोरा बोले ।

तर, सुरुमा प्रधानमन्त्री निकट र त्यसपछि अरु मन्त्रीहरु पनि क्याबिनेटमा बोलाइयो भन्दै हिँडे । गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटनमन्त्री योगेश भट्टराईहरु पुग्दा त बैठक सकिसकेको थियो । र, संघीय संसदको चालु अधिवेशन बिहीबार साँझ ५ बजे नै अन्त्य गर्न सिफारिस गर्ने निर्णय भइसकेको थियो ।

ओलीको अडान : अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनँ

प्रचण्डले स्थायी कमिटीमा सुनाए अनुसार ओली र उनीबीच भएको सम्वादमा मन्त्रिपरिषद् बैठक पनि नबस्ने र अधिवेशन पनि अन्त्य नगर्ने सहमति भएको थियो । त्यस विपरीत निर्णय भएको भन्दै प्रचण्डले स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित गरे र, महासचिव पौडेललाई लिएर ओलीलाई भेट्न गए ।

स्रोतका अनुसार भेटमा प्रचण्डले आफूहरुसँग भएको सहमति विपरित मन्त्रिपरिषद बैठक बसेर संसद अधिवेशन अन्त्य गरेको विषयमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सोधेका थिए । कतै बाहिर चर्चामा रहे जस्तो दलविभाजन गर्न सहज हुने अध्यादेश ल्याउन खोजेको त होइन भन्ने प्रश्न गरे ।

जवाफमा ओलीले संसद अधिवेशन अन्त्य केही दिनमा गर्नुपर्ने नै थियो, यसले केही फरक पर्दैन भनेका थिए । साथै उनले अध्यादेश ३/४ दिन आउँदैन भनेको स्रोतको दाबी छ । ‘उहाँले अध्यादेश ल्याउँदिन भन्नु भएनछ’ एक नेताले भने ।

पार्टी बैठकमा छलफल गरौं न भन्दा ओलीले प्रधानमन्त्री र अध्यक्ष पद छाड्दिन, अरु विषयमा कुरा गर्न गरौंला भन्ने जवाफ दिएको प्रचण्ड निकट एक नेताले बताए ।

प्रधानमन्त्रीले अध्यादेश ल्याउँदिनँ भन्ने प्रष्ट बचन नदिएपछि प्रचण्डले शीर्षनेताहरुसँग परामर्श गरे । ओलीले कुनै पनि बेला दल फुटाउन सहज हुने अध्यादेश ल्याउन सक्ने विश्लेषण गरे र, अध्यक्ष प्रचण्डलाई शीतल निवास जान सुझाए ।

सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले शीर्षनेताहरुसँग परामर्श नै नगरी खुरुखुरु प्रमाणीकरण गर्दा पार्टीलाई समेत घाटा भएको र लोकतान्त्रिक पनि नहुने भन्दै प्रचण्डले भनेका छन्, ‘तपाई पार्टीको एउटा पक्षमा लागेको जस्तो सन्देश नजाओस् ।’

तर राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले अध्यादेश आइसकेको छैन भन्ने जवाफ दिएकी छन् ।

प्रचण्ड शीतल निवासमा गएका बेला नेताहरुले महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री ओली कहाँ पठाए । स्थायी कमिटी बैठकमा आएर अध्यादेश ल्याउँदिन भन्ने बचन दिए थप छलफल गर्न सकिने सन्देश बोलेर पौडेल गएका थिए । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आउन अस्वीकार गरेका छन् ।

भोलि निर्णायक पहल

बिहीबार दिनभर बालुवाटार र शीतल निवासको दौडधुपपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुले निष्कर्ष निकालेका छन्, ‘पार्टी फुटको संघारमा पुगिसकेको छ ।’

प्रधानमन्त्री ओली दुबै पद कुनै पनि हालतमा नछाड्ने, बरु पार्टी फुटाउने रणनीति लिएको उनीहरुको दाबी छ । ‘उहाँले पार्टी फुटाइसक्नु भएको छ । तै पनि यसलाई रोक्न सकिन्छ कि भनेर आज र भोलि दिनभर प्रयास गरौं भनेर बैठक स्थगित गरिएको छ’ ओली इतर समूहका एक शीर्ष नेताले भनेका छन् ।

त्यही कारण स्थायी कमिटी बैठक पर्सि ११ बजे मात्र राखिएको नेताहरुले बताएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकतामा गम्भीर संकट आएको बताएका छन् । पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासासहित आजको बैठकले पार्टी एकतालाई हर हालतमा रक्षा गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकता पुरा गर्ने गरी अगाडि बढ्न आपसी छलफल गर्नुपर्ने महसुस गरेका कारण पर्सि ११ बजेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको छ’ उनले भनेका छन् ।

यो अवधिमा पार्टीमा देखिएको संकट र यसको समाधानबारे अध्यक्ष ओली र प्रचण्डका साथै अरु नेताहरुको बीचमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

टिप्पणी : पार्टी फुटको संघारमा पुगेकै हो त ?

केपी ओली पक्षका नेताहरुले विहीबार बिहान खुमलटारमा प्रचण्डसँगको भेटमा पार्टी गम्भीर मोडमा पुगेको र फुटबाट जोगाउन दुई अध्यक्षले पहल गर्नुपर्ने बताएका थिए । अहिले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन खोज्दा ओलीले कुनै हालतमा नमान्ने र पार्टी फुट्न सक्ने ओली पक्षका नेताहरुको तर्क थियो ।

उसोभए ओलीलाई प्रधानमन्त्रीबाट हट्न स्थायी कमिटीको बैठकले निर्देशन दियो भने उनले पार्टी विभाजन गर्लान् त ? यो त्यति सजिलो चाहिँ देखिँदैन ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय अवज्ञा गरिरहने र पार्टीले उनलाई हटाउने हो भने पार्टी फुटाउनका लागि प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुपर्ने हुन्छ । र, त्यसरी पार्टी विभाजन गर्दा स्वतः संसदमा पनि बहुमत गुमाउने र तत्काल सरकार छाड्नुपर्ने अवस्था आउन सक्छ ।

कतिपयले पार्टी फुटाएर प्रधानमन्त्री ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने दाबी पनि गर्दै आएका छन् । तर, दुई वर्षयता बदनाम भएका केपी ओलीलाई काँध हालेर नेपाली कांग्रेसले आफूलाई समेत बिटुलो बनाउला भनेर अनुमान गर्नु त्यति वस्तुसम्मत देखिँदैन ।

यो अवस्थामा फुटेर सरकार जोगाउन पनि नसक्ने र नेकपा एमालेको सानो समूह चलाएर बस्नुपर्ने निर्णय प्रधानमन्त्री ओलीले गरे भने उनको हालत विगतमा वामदेव गौतमको जस्तै नहोला भन्न सकिँदैन । किनभने, आम जनमत एकताको पक्षमा छ, विभाजनको पक्षमा छैन । स्वयं केपी ओली समूहमकै नेताहरु समेत पार्टी एकता बचाउने शर्तमा मात्र ओलीलाई साथ दिने पक्षमा छन्, पार्टी फुटाउने शर्तमा होइन ।

माओवादीसँग पार्टी एकताका लागि स्वयं केपी ओलीले पनि निर्णायक भूमिका खेलेर यहाँसम्म आएको हुनाले उनले पार्टी फुटाउने भूमिका खेल्लान् भन्ने कार्यकर्ताहरुले पत्याउन सकेका छैनन् ।

तर, माधव नेपाल र प्रचण्ड पक्षका कतिपय नेताहरु भने प्रधानमन्त्री ओलीले पार्टी विभाजनको तयारी गरिरहेको दाबी गर्छन् । अर्कोतिर ओली पक्षका नेताहरुले पनि ‘केपीलाई अहिले प्रधानमन्त्रीबाट हटाइयो भने पार्टी फुट्छ भन्दै ठोकुवा गरिरहेको स्थिति छ । साथसाथै, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबैबाट हट्दिनँ भनेर बहुमतलाई ठाडै चुनौती दिइरहेको अवस्था पनि विद्यमान छ ।

यसैवीच, नेकपा महासचिव विष्णु पौडेलले २०० प्रतिशत पार्टी नफुट्ने दाबी गरेका छन् । उनी भन्छन् ‘२०० प्रतिशत विश्वास गर्नोस्, पार्टी फुटदैन । अनलाइनखबरबाट ।

प्रकाशित मिति July 2, 2020
Loading...