विपी राजमार्ग सुरुङ मार्ग सहित डबल लेनको बन्ने, २३ किलोमिटर दुरी घट्ने

सिन्धुली । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग नेपालकै सबैभन्दा सुन्दर सडक हो ।

निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने अगाडि बढाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए ।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चियाबारी–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्ने जानकारी दिए ।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ। नेपाल सरकारले गत वर्षनै सुरुङ मार्ग निर्माण गर्ने योजना बारे अध्ययन गरेको थियो । सरकारले यो आयोजना यस वर्ष नै सुरु गरेर आगामी पाच भित्रमा सक्ने आयोजना प्रमुख रानाभाटले जानकारी दिनुभयो ।

प्रकाशित मिति September 1, 2019