काठमाडौं उपत्यकामा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं,असार ३० । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।

सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यस्तै नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको सुन्दर यातायातले आजदेखि सेवा सुरु गरेको छ । यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ । कम्पनीले पुरानै भाडादरमा सेवा दिएको हो ।

साझा यातायातले भने साउन एक गतेवाट सेवा सुभारम्भ गर्ने भएको छ । अन्य ब्यवसायीले भने विभिन्न सर्त राखेर यातायात सेवा सुचारु गरेका छैनन । उनीहरुले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपूँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्ने लगायतका माग राखी बस सञ्चालन गरेका छैनन् ।।

प्रकाशित मिति July 14, 2020
Loading...