मन्त्रीलेनै सरकारको निर्णय उल्लंघन गरेपछि जनता समाजवादी पार्टीले पनि गर्‍यो सभा

काठमाडौं, साउन १६ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले २५ जना भन्दा बढी भेला हुने सभा, सम्मेलन, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रममा रोक लगाइएको छ ।

रोक लगाईए पनि जनता समाजवादी पार्टीले बिहिवार सिराहाको गोलबजार नगरपालिकामा सभा गरेको छ । पार्टी प्रवेश कार्यक्रम भनिएको उक्त कार्यक्रममा करिब ५ सय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थिति रहेको थियो ।

सरकारले यस्ता सभा सम्मेलन गर्न रोक लगाएपनि गत हप्ता मात्रै संघीय सरकारका मन्त्रीलेनै निर्णय उल्लंघन गरेका थिए ।

नेकपाका करिब ७ सय नेता कार्यकर्ता सहभागी भएको मदन भण्डारी फाउण्डेशन काभ्रेको जिल्ला भेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथीको रुपमा सहभागी भएर सरकारकै निर्णयको धज्जी उडाईएको थियो ।

तस्बिर : काभ्रेमा मन्त्री ज्ञवाली उपस्थित कार्यक्रम ।

ओलि सरकार भ्रष्टाचारीको संरक्षक बन्यो : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भ्रष्टाचारका काण्डैकाण्डका मतियारहरूलाई ओलि सरकारले संरक्षण गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा दिँदै सरकारले सुनकाण्डदेखि कोरोना कहरका बीचमा औषधि खरिद काण्डसम्मका मतियारलाई संरक्षण गरेर देशलाई डुबाउन लाग्यो ।’ सिंगो विश्व नै कोरोना महामारीको चपेटामा परेको वेला सरकार भने भ्रष्टचारीको संरक्षणमा लागेको उनको आरोप छ ।

कार्यक्रममा उनले विश्वको पहिलो शक्तिराष्ट्रको दिशामा उन्मुख हुँदै गएको चीन र तेस्रो शक्तिराष्ट्र भारतको बीचमा रहेको नेपालले दुवै देशबाट व्यावसायिक फाइदा लिन सक्नुपर्ने बताए । ‘त्यसो हुँदा मात्र मुलुक समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘छिमेकी तथा मित्रराष्ट्रहरूलाई चिढ्याएर मुलुक समृद्ध बन्न सक्दैन ।’

 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उट्पयाङ कुराले छिमेकीसँगको सम्बन्धमा दरार पैदा भएको पनि बताए । उनले भने, ‘प्रधानमन्त्री बोल्न उभिँदा अब के उटप्याङ बोल्ने हुन् वा कसलाई चिढ्याउने हुन् भन्ने आशंका हुन्छ ।’ प्रधानमन्त्रीको त्यही उट्पयाङ शैलीले वैदेशिक सम्बन्ध धरापमा परेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीको शैलीले संघीयतासमेत धरापमा पर्ने जोखिम बढेको छ ।’

प्रकाशित मिति July 31, 2020
Loading...