जोखिम बढेपछि बाँके र बारामा आजदेखि निषेधाज्ञा जारी

बाँके, साउन १८ : कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

पछिल्लोपटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ । आन्तरिक राजश्व , यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट दुईको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ ।

त्यस्तै बारामा पनि आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेबाट लागू हुने गरी त्यहाँ निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक कामबाहेक कोही पनि नागरिक भेला हुन वा घरबाट बाहिर निस्कन नपाउने भनेको छ।

‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरू, कलैया बजार क्षेत्र, पथलैया-वीरगन्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रमा निषेधाज्ञा जारी गरिने छ,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति August 2, 2020
Loading...