मलेसियामा नेपाली पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

काठमाडौं, साउन १९ । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको घटनाको थप विवरण खुलेको छ ।

नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

 

घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन।

दूतावासले घटनाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको हो । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् ।

उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।

पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ ।मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासल जनाएको छ ।

दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति August 3, 2020