सुनको भाउ तोलाको एक लाख नाघ्यो

काठमाडौं, साउन २१ : नेपालमा सुनको भाउ तोलाको एक लाख नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ हालसम्मकै उच्च तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको उहाँले बताउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको पनि महासंघले जनाएको छ ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 5, 2020