विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धारगर्न ७५ करोड

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपाली श्रमिकहरुको निःशुल्क उद्धार गर्ने प्रक्रियाको थालनी गरेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर रोजगारी गर्न विदेश गएर अलपत्र परेका नेपाली नागरिकको निःशुल्क उद्धार गर्न वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।

बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले उद्दार निर्देशिका अनुसार बजेट छुट्याइएको र नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत विभिन्न देशमा रहेका नेपाली दूतावासले पठाउने विवरणका आधारमा वैदेशिक रोजगार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिनुभयो । विदेशमा रहेका नेपाली दूतावासहरुले कोरोना भाइरसका कारण विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरिसकेकाले अर्को हप्तादेखि आबेदनका आधारमा उद्दार गर्न कति रकम चाहिन्छ उक्त रकम माग आउने पनि उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत कोरोनाका कारण समस्यामा रोजगारी गुमाएका, अलपत्र परेका,घर फर्कन टिकट काट्न नसक्ने अवस्था, विभिन्न किसिमले समस्यामा परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।

यसैगरी निःशुल्क उद्दार गर्न ओमान र मलेसियामा प्रक्रिया सुरु

मलेसिया र ओमानमा रहेका नेपाली राजदूतावासले विदेशबाट आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुको तथ्याङ्क सङ्कलन सुरु गरेका छन्

रोजगारी गुमेर घर फर्कन टिकट काट्न नसकेका श्रमिकलाई आवेदन दिन ओमान र मलेसियाका नेपाली दूतावासले अनुरोध गरेका छन् ।

दूतावासका अनुसार तोकेको निवेदन ढाँचाअनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल वा हटलाइन वा ह्वाट्स एपमार्फत निवेदन पेस गर्न सकिने पनि व्यवस्था गरेका छन् । सम्बन्धित दूतावासलाई निवेदन दिँदा आफ्नो राहदानी र रोजगारी करार पत्रको प्रतिलिपिसँगै पेस गर्नसमेत दूतावासले आग्रह गरेका छन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 6, 2020
Loading...