भद्रगोलको नयाँ एपीसोड फ्लप, यूट्यूवमा लाइकभन्दा डिस्लाइक दोब्बर

२०७६ भदौ २३

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।

गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र ३१ हजार झन्डै दोब्बर डिसलाइक देखिएका छन् ।

यति मात्र होइन, यसमा आएका १३ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् भने कतिले मिडिया हबलाई अनसस्क्राइब गर्ने बताएका छन ।

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।

यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

बाहिरिएको टिमले नयाँ सिरियल ल्याउँदै

नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ । अनलाइनखबरसँगको कुराकानीमा घिमिरेले एक-दुई दिनमा पत्रकार सम्मेलन गरेर नाम सार्वजनिक गर्ने बताए ।

‘हाम्रो सबै तयारी पूरा भइसकेको छ, भद्रगोलकै पात्रहरु र कथावस्तुमा आधारित भएर टेलिश्रृंखला निर्माण गर्दैछौं,’ उनले भने । उनले नेपाल टेलिभिजनसँग प्रत्येक विहीबारको समय आफूहरुले खरिद गरिसकेको जानकारी दिए ।

भद्रगोलको ट्रेडमार्क भने मिडिया हबसित छ । उसले पुरानै भद्रगोलको प्रशारणलाई पुनः निरन्तरता दिइसकेको अवस्थामा त्यसकै प्रमुख पात्रहरु अर्को सिरियलमा बसाइ सर्न लागेका हुन् । यसरी एउटै ‘थिम’मा दुई सिरियल प्रशारण हुने भएका छन् ।

यस सम्वन्धमा घिमिरेे भन्छन्, ‘उहाँहरु र हामीले अलगअलग कथा लेख्ने भएकाले जुध्ने भन्ने प्रश्नै आउँदैन ।’ उनले सिरियलको नाममा कपिराइट लागे पनि पात्रहरुमा भने नलाग्ने दावी गरे ।

‘भद्रगोलका सबै पात्रहरु हामीले नै जन्माएका हौं । यदि पात्रहरुमा पनि कपिराइट लाग्ने हो भने त धुर्मुस, माग्नेबुढा, तक्मेबुढा, मुन्द्रलगायत कसैले पनि आफूले जन्माएको चरित्रलाई निरन्तरता दिन सक्ने थिएनन्,’ उनले भने ।

साथै भद्रगोलको नयाँ एपिसोडमा आफूहरुले बनाएको पुरानो एपिसोडको क्लिपहरु जोडिएकोमा पनि घिमिरेले आपत्ति जनाए । उनले भने, ‘उहाँहरुले पुरानोकै निरन्तरता हो भन्ने भान पार्न खोज्नुभएको होला । तर, दर्शक झुक्किनेवाला छैनन् ।’

प्रकाशित मिति September 8, 2019