पास बन्द : काठमाडौं आवतजावतमा पूर्ण रूपमा रोक

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आउन-जान गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारीपास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गते आजदेखि लागू हुनेगरी पास वितरण नगर्न निर्देशन दिएको थियो।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर र उपत्यकामा कोरोनाभाइरसको संक्रमण निरन्तर बढ्दो क्रममा छ । काठमाडौँ उपत्यकामा दैनिक एकसय भन्दा बढी सङ्क्रमण देखिएपछि प्रवेशमा नाकामा कडाइ गरिएको हो ।

अन्तरजिल्ला सवारीपास बन्द भएपनि सरकारले तोकेको अत्यावश्यक सेवा र बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 13, 2020
Loading...