काठमाडौं, भदौ १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुस्प कमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
त्यसै अनुसार आज बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्षद्वयद्वारा गठित कार्यदलकाे बारेमा बैठकमा जानकारी गराइएकाे, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमाेदन गरेकाे छ र कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र सचिवालय बैठकमा आउने उहाँले बताउनुभयो ।
पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।
विभिन्न विवादका बीच साउन ४ गतेदेखि हुन नसकेकाे नेकपा सचिवालयकाे बैठक आज बसेको हो ।
प्रकाशित मिति August 17, 2020