आगामी चैतमा नेकपा महाधिवेशन गर्न कार्यदलको सुझाव

काठमाडौं, भदौ ६ । आगामी चैतमा महाधिवेशन गर्ने सुझावसहित नेकपाको विवाद मिलाउन गठित कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ। शनिबार बिहानैदेखि बालुवाटारमा बसेको कार्यदलको बैठकपछि अपराह्न अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलका एक सदस्यका अनुसार प्रतिवेदनमार्फत कार्यदलले महाधिवेशनको मिति प्रस्ट तोकिदिएको छ। यही महाधिवेशनले पार्टीका अरु विवाद टुंगो लगाउने छ।

नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरू विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो। कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्ण रूपमा सरकार चलाउने निचोड निकालेको छ। अर्कातिर र दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ।

त्यस्तै झलनाथ खनालको अध्यक्षतामा गठित एमसिसी अध्ययन कार्यदलको सुझावअनुसार एमसिसी पास गर्नुपर्ने सुझाव पनि कार्यदलले दिएको छ । सरकार र प्रदेशमा मन्त्रीहरु परिवर्तनका लागि भने पार्टीको सचिबालयको निर्णयअनुसार हुनेछ। ‘हामीले प्रतिवेदन नेतृत्वलाई दिएका छौँ’ ती सदस्यले भने ‘अब त्यसको कार्यान्वयन गर्दै जाँदा पार्टीका सबै विवाद साम्य हुन्छन्।’

ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्‌याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्नेलगायतका विषयमा प्रतिवेदनमा समावेश भएको नेकपा स्रोतले जनाएको छ।

मुख्य बुँदा यस्ता छन् :

पार्टी एकताको महत्वको आवश्यकता
पद्धति र संस्थागत प्रणाली लागू गर्ने
दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने
पार्टी एकताको काम सम्पन्न गर्ने
बाँकी राजनीतिक एवं संगठनात्मक काम तत्काल गर्ने
राष्ट्रिय महाधिवेशनमा जाने गरी तयारी थाल्ने
सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर
प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने
सीमा समस्या समाधान गर्ने
को भिड १९ को रोकथाम र उपचार
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वको प्रतिवेदनअनुसार एमसीसीका विषय टुंगाउने
शान्ति प्रक्रियाका काम टुंगाउने
बाढी पहिरो पी डितलाई राहत

प्रतिवेदन बुझाएलगत्तै कार्यदल विघटन

पार्टी विवाद समाधान प्रस्ताव तयार गर्न पार्टी महासचिव पौडेलेको संयोजकत्वमा गठित कार्यदल विघटन भएको छ । अध्यक्षद्धय ओली र दाहाललाई प्रतिवेदन बुझाएपछि कार्यदल विघटन भएको हो । महत्वपूर्ण जिम्मेवारी पुरा गरेको भन्दै अध्यक्षद्धयले कार्यदलका सदस्यलाई धन्यवाद समेत दिएका थिए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 22, 2020