सिन्धुलीमा विमानस्थल निर्माण प्रक्रिया सुरु, बजेट छुट्याइयो

काठमाडौं, भदौ ८ । सरकारले सिन्धुलीमा पनि आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ। स्थानीयले माग गरेको झण्डै एक दशकपछि सिन्धुलीमा विमानस्थल बन्ने पक्का भएको हो ।

जिल्लाको कमलामाई नगरपालिका ८ को कल्याणी मन्दिर नजिकै भिमान बजारबाट ६ किलोमीटरको दुरिमा विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिसकेपछि विमानस्थल बन्ने पक्‍का भएको हो।

सिन्धुलीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको छ। विमानस्थल निर्माणमा लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्रधाधिकरणले बजेटसमेत छुट्याएको छ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि बजेट व्यवस्था गरेको हो।

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष भित्र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्ने गरी बजेट व्यवस्था गरिएको बताए।

‘विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन गरिसकेकाे छ। अध्ययनमा सिन्धुलीको भीमानमा विमानस्थल निर्माण गर्न सम्भव रहेकाे ठहर भएको छ’, पोखरेलले भने, ‘ विस्तृत अध्ययनका आधारमा चालू आर्थिक वर्षभित्रै इआइए रिपोर्ट तयार गर्न २६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।’

पूर्व कृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलको अग्रसरतामा विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रियाको थालनी भएको थियो। विमानस्थल निर्माणस्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तरगत महोत्तरीको बर्दीवासबाट वीपी राजमार्गहुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ भने मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्गहुँदै ३२ किलोमिटर दूरीमा रामेछापबाट आइपुगिन्छ।

सिन्धुली विमानस्थलबाट सिमरा विमानस्थलसम्म ९५ किलोमिटर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ। जिल्लामा विमानस्थल बन्ने भएपछि स्थानीय भने निक्कै उत्साहित भएका छन्।

सिन्धुली जिल्लाहुँदै राजधानी काठमाडौं तथा मध्य तराईका साथै पूर्वी र मध्यपहाडी जिल्ला जोड्ने चार ठूला राजमार्ग निर्माण भएपछि जिल्लामा स्थानीयले विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए।

प्रकाशित मिति August 24, 2020
Loading...