विदेशबाट आउने नेपालीलाई निशुल्क क्वारेन्टिनमा राख : संग्रौला

काठमाडौं, भदौ, ८ । प्रमुख विपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा समस्यामा परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फिर्ता गराउन आग्रह गरेकी छन् ।

सोमबार विज्ञप्ति निकालेर उनले कोरोना भाइरसको महामारीका कारण काम गुमाएर राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निशुल्क उद्धार गर्न माग गरेकी हुन् । ‘श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस्’ संग्रौलाले भनेकी छन् ।

उनले विदेशबाट आउनेले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने गरी भएको निर्णय फिर्ता लिन आग्रह गरेकी छन् । होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुपर्ने उनको सुझाव छ । विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गर्नुपर्ने संग्रौलाले उल्लेख गरेकी छन् ।

यस्तै, कोरोना संकटभन्दा पहिले नै विदेशमा मृ त्यु भएका ७० भन्दा बढी नेपालीको श व अलपत्र रहेको उल्लेख गर्दै उनले ती श व यथाशीघ्र नेपाल ल्याएर परिवारलाई जिम्मा लगाउन पनि आग्रह गरेकी छन् ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? कृपया तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति August 24, 2020