डेरावाललाई कोरोना संक्रमण भएपछि  घरबेटीले आफ्नै घरमा बनाइदिए आइसोलेसन

बिराटनगर, भदौ ८ । पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिएको मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बाध्य बनाएको घटना नौलो हुन छाडेको छ । तर यहाँका एक घरबेटीले भने डेरावाल संक्रमितका लागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएका छन् ।

विराटनगर महानगरपालिका ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् ।

एक साताअघि सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई कोरोना संक्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण संक्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

सुवेदीको दुईतल्ले घर छ । भुई तल्लामा संक्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् । युवतीको परिवारलाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् ।

‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’

संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’

संक्रमण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरोना संक्रमितको मृत्यु भएको थियो ।

संक्रमित युवती मृतक पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए ।

लक्षण भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने

सरकारले कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले शैय्या नपाउने स्थिती आएपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका हुन ।

लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै मन्त्रालयले कोरोना भाइरस बिरुद्धको खोपको नेपालमा परीक्षण विश्वब्यापी मान्यताका रुपमा हुन लागेको स्पष्ट पारेको छ । परीक्षणमा स्वतःस्फूर्त सामेल हुन चाहनेहरूलाई मात्रै समावेश गर्ने भएकाले भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।
भ्याक्सिनको परीक्षण नेपालमा गर्न नहुने भन्दै आवाज उठेपछि मन्त्रालयले यसलाई थप प्रस्ष्ट पारेको हो ।

आइतबार मात्रै सरकारले कोरोना भाइरसविरुद्ध लड्न उपयोगी देखिएका भ्याक्सिनको क्लिनिकल परीक्षण गर्ने बाटो खुल्ला गरेको थियो । नेपालमा चिनियाँ कम्पनी होङ्सी, बेलायतको अफ्सफोर्ड विश्वविद्यालय र रुसले परीक्षणको तयारी गरेका छन ।

प्रकाशित मिति August 24, 2020
Loading...