पाँचौ चरणको उद्धार उडान आजदेखि, कहाँ-कहाँबाट हुँदैछ ?

काठमाडौँ, भदौ ९ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको पाचौं चरणको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो ।

नयाँ तालिकाअनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । यस्तै ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन् ।

टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् ।
यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ ।

यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । त्यसैगरी भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ ।

यस्तै १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन् भने १५ गते नेपालले दुबई र हिमालयनले आबुधाबीबाट उडान गर्ने तालिका सार्वजानिक भएको छ । यससँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।

उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टे स्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वा रेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ ।

पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरू जस्तै साउदी अरब, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन् ।

कोषको खर्चबाट उद्धार गरिएकाबाहेक अन्यलाई अनिवार्य एक साता होटल क्वा रेन्टाइनमा राखिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौँ उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वा रेन्टाइनमा बस्नुपर्छ ।

तर पीसीआर नेगेटिभ आएमा उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् । तस्बिर : एभिएसन नेपाल ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020