कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १ हजार १११ संक्रमित थपिए, काठमाडौं उपत्यकामा ३७७ थपिए

काठमाडौं, भदौ ११ । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन । एकै दिन देशभर १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१२ हजार ६ सय २९ पीसीआर नमूना परीक्षण गर्दा ७ सय ७७ पुरुष र महिला ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि गत भदौ २ गते सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

काठमार्डौ उपत्यकामा एकैदिन ३ सय ७७ जना संक्रमित थपिएका छन । काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा फेला परेको संक्रमितको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै मोरङमा २०, सुनसरीमा ३८, धनुषामा ३९, पर्सामा ८५, बारामा ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरी २२, कपिलबस्तु २१, बाँकेमा ७५ र कैलालीमा २० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५ सय ६९ जना कोरोनामुक्त भएका छन । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

देशका विभिन्न स्थानका आइसोलेसनमा १५ हनार २ सय ७३ जना बसिरहेका छन । तिमध्ये ६ हजार २ सय १० जना होम आइसोलेसनमा रहेका छन । देशभर क्वारेन्टिनमा ९ हजार ४ सय ८८ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ वटा पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म कोरोना भाइरस संक्रमणवाट देशभर १ सय ८३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आठ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020