बिरामी भएपछि राजीनामा दिदै जापानका प्रधानमन्त्री

काठमाडौं, भदौ १२ । बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।

‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उनीनिकट स्रोतले भनेको छ। पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो ।

आबे सन् २०२१ को सेप्टेम्बरसम्मको कार्यकालका लागि प्रधानमन्त्री चुनिएका थिए । उनले यसअघि नै जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गरिसकेका छन् ।

को रोना भा इरस नियन्त्रणको लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्री आबेको आलोचना हुँदै आएको थियो । साथै उनको पार्टीका सदस्यमाथि लागेको आरोपको कारण पनि प्रधानमन्त्रीमाथि प्रश्न उठेको थियो । को रोना भा इरसको म हा मा रीको कारण जापानको अर्थतन्त्रमा ठूलो असर देखिएको छ । प्रधानमन्त्री आबेले मुलुकको अर्थतन्त्रलाई सही लयमा फर्काउने वाचा गरेका थिए ।

आबेको स्वास्थ्यमा गत जुलाईदेखि समस्या देखिन थालेको र अगष्टको सुरुसम्म आइपुग्दा उनको स्वास्थ्यअवस्था झन् बिगि्रएको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...