ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

ललितपुर, भदौ १४ । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको नगर प्रमुख महर्जनले स्पष्ट पारे ।

हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । अवकाशपछि उनको विज्ञता ललितपुरको नगर प्रहरी मार्फत उपयोग गरिने महर्जनले बताए ।

हाल ललितपुरको नगर प्रहरीमा करिब १५ जना छन् । तर यसलाई छिटै बढाएर ७२ जना पुर्‍याइँदैछ । त्यसमा ३ जना प्रहरी निरीक्षक पनि हुनेछन् । यो टिम हाछेथुको कमाण्डमा हुनेछ ।

आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे । उनले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिक्रिया दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 30, 2020
Loading...