साझा पार्टी र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई तान्ने प्रयास

काठमाडौं, भदौ १६ । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ ।

विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन गरेर वार्ता अगाडि बढाएका छन् । विवेकशीलको संवाद समिति रञ्जु दर्शनाको नेतृत्वमा छ भने साझाको नेतृत्व समीक्षा बास्कोटाले गरेकी छन् । उनीहरु दुवै वार्ता प्रक्रिया सकारात्मक र निस्कर्षउन्मुख रहेको बताउँछन् ।

‘हामीले विगतको विभाजनको समीक्षा गरेर आत्मालोचनासहित एकता प्रक्रिया थालेका हौं,’ विवेकशील नेतृ रञ्जुले भनिन्, ‘अबको एकता फराकिलो दायरामा हुनेछ र पुराना गल्तीहरु दोहोरिने छैनन् ।’

समीक्षाले पनि यही भाव व्यक्त गरिन् । उनले भनिन्, ‘वैकल्पिक शक्ति एक हुनैपर्छ भन्ने निस्कर्षका साथ वार्ता एकदम सकारात्मकरुपमा अघि बढेको छ । निषेधाज्ञाले गर्दा अलिकति सुस्ताएको मात्र हो । वार्तामा अहिलेसम्म धेरै उपलब्धी भएका छन्, तर, कम्प्लीट प्याकेट आएपछि मात्रै बाहिर ल्याउने कुरा भएको छ ।’

विवेकशील र साझाले यसपालिको एकता फराकिलो दायरामा हुने बताएका छन् । यस्तो एकतापछि निर्माण हुने पार्टी नेकपा र कांग्रेसको विकल्पका रुपमा उभिने दाबी उनीहरुको छ ।

विवेकशील र साझा मात्रै नभएर समान भावना भएका अन्य राजनीतिक समूह र संगठनलाई पनि समेटेर ठूलो मोर्चा बनाउने प्रयास भइरहेको रञ्जुले बताइन् । यस्ता व्यक्ति र समूहहरुको सुचीकरण र अनौपचारिक कुराकानी भइरहेको उनले जानकारी दिइन् । यद्यपि कोरोना र निषेधाज्ञाका कारण औपचारिक संवाद सुरु हुन सकेको छैन ।

हिरामणि पौडेलको नेतृत्वमा रहेको सहकारी पार्टी भने विवेकशीलमा मिसिन तयार भइसकेको छ । केही दिनमै औपचारिक सहमति गरेर विवेकशीलले सहकारीलाई आफूमा विलय गराउने छ । विवेकशीलले समेट्न चाहेकामा रमेश खरेलदेखि निगम हुमागाईं र ज्ञानेन्द्र शाहीसम्म छन् ।

साझा पार्टीकी संयोजक बास्कोटाले पनि एकता प्रक्रिया दुई पार्टीमा मात्रै सीमित नरहने बताइन् ।

‘हामी तेस्रो ठूलो दल बनाउने उद्देश्यसहित वैकल्पिक समूह, व्यक्तिहरु को – कहाँ हुनुहुन्छ सबैलाई एक ठाउँमा ल्याउने प्रयास गर्नेछौं । तर, अहिले विवेकशीलबाहेक अरुसँग औपचारिक कुराकानी सुरु भएको छैन,’ उनले भनिन् । अनलाइनखबरबाट ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020