आज इन्द्रजात्रा, प्रधानमन्त्री ओलिद्वारा शुभकामना व्यक्त

काठमाण्डौं, भदौ १६ । वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो जात्रा मनाइने गरिन्छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गर्ने परम्परा छ । तर यो वर्ष को रो ना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ ।

यस वर्ष भने इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिमा क्षमा पूजा गरिने गुठी संस्थानले जनाएको छ ।

विगतका वर्षहरुमा भने जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्छ भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो । जिल्ला प्रशासन कार्यालयले संक्रमण फैलने भन्दै भीडभाडमा विभिन्न चाडपर्व नमनाउन आग्रह गरेको छ ।

इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन् ।

सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, “ नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ ।”

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाएका छन् ।

सन्देशमा उनले को रो ना म हा मारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति September 1, 2020
Loading...