गौतम-खतिवडा भीडन्त : नैतिक दबाबमा प्रधानमन्त्री !

काठमाडौं, भदौ १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रिक्त राष्ट्रियसभा सदस्यमा मनोनयनको विषयलाई लिएर फेरि विवाद चर्किने देखिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई सांसदमा निरन्तरता दिने चर्चा चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि सो पदमा दाबी गरेपछि नेकपा भित्रको पुरानो विवाद पुनः चर्किने देखिएको हो ।

                                                                              राष्ट्रिय सभाको मनोनित एक सांसद पदमा बामदेव गौतम र युवराज खतिवडाबीच फेरी भीडन्त हुने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले वर्तमान अर्थमन्त्री खतिवडालाई नै सांसदमा निरन्तरता दिनसक्ने आशयका अभिव्यक्ति सावर्नजनिक दिन थालेपछि त्यसको जवाफमा गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने अडान सार्वजनिक गरेपछि केही समय यता मत्थर जस्तो देखिएको नेकपा भित्रको विवाद फेरि चर्किने संभावना देखिएको हो ।

फागुन १४ गते बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको त्यो निर्णय आफूले नमान्ने बताउँदै आएका छन् । ओलीले हालै एक अन्तर्वाताएमा बामदेवलाई मनोनयन गर्ने च्याप्टर क्लोज भइसकेको आसय व्यक्त गरेका थिए ।

                                                                                पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन दिएसँगै नेताहरुबीचको कलह केही सेलाएको अनुमान भइरहेका बेला मनोनित सांसद पदले पार्टी भित्रको विवाद पुन एक पटक सतहमा आउने देखिन्छ । सासंद बन्ने गौतमको दाबीपछि प्रधानमन्त्रीलाई पार्टीको निर्णय मान्ने कि नमान्ने भन्ने नैतिक दबाब पर्ने देखिन्छ ।

महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णय सचिवालयमा छलफल गरी सोहिअनुसार सरकारले कार्यान्वयन गर्ने भनि भर्खरै कार्यदलले दिएको प्रतिवेदनले पनि प्रधानमन्त्री नैतिक संकटमा पर्ने देखिन्छ । पार्टीको निर्णय र आफैले बनाएको कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीले मान्लान की नमान्लान भन्ने परीक्षण पनि हुनेछ ।

                                                                               सांसद नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्नसक्ने व्यवस्थाअनुसार अर्थमन्त्री खतिवडाको थपिएको कार्यकाल पनि यही शनिबार सकिदैछ । पछिल्लो समय आफूलाई सहयोग गर्दै आएका गौतमको इच्छालाई नजरअन्दाज गरेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई त्यति सजिलो पनि देखिँदैन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...