काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, यी क्षेत्रहरु खुल्दैछन् !

काठमाडौ, भदौ १६ । उपत्यकामा कोरोना संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने तयारी गरिएको छ ।

आज उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वुधवार वेलुकादेखि निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल गरेका हुन ।

                                                                        दोस्रोपटक थपिएको निषेधाज्ञा बुधवार मध्यरातसम्म कायम रहेकाले त्यसपछिको निषेधाज्ञावारे औपचारिक निर्णय भने भोली मात्रै हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

निषेधाज्ञाको स्वरूप केही फेर्न भने तीन जिल्लाको बैठकले गृहलाई सिफारिस गरेको छ । हालसम्म भएको छलफलअनुसार निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने, नीजि सवारीमा जोर विजोर र होम डेलिभरी खुकुलो बनाउदै अन्यलाई यथावत राख्न सुझाव दिईएको बुझिएको छ । संक्रमण बढदै गएकाले निषेधाज्ञा हटाउन नहुने बैठकको निस्कर्ष छ ।

                                                                                  भदौ ३ देखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा १० गते १७ गतेसम्म थप गरिएको थियो । पछिल्लो समय उपत्यकामा करिव छ हजार संक्रमित पुगेका छन् । यस्तो अवस्थामा निषेधाज्ञा गरेर मात्र नभई परीक्षणको दायरा पनि बढाउनुपर्ने विज्ञको सुझाव छ । तर परीक्षण दायरा बढन सकेको छैन ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

                                                                              दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

– शिर्षक सच्याइएको ।                                काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020