काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयरहरुको प्रशासनलाई सुझाव

काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यका नगरपालिका मेयरहरुको फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव दिएको जानकारी दिएका हुन् ।

श्रेष्ठले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

अहिले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको फोरमको सुझाव छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने निस्कर्ष फोरमले निकालेको छ । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ सचेत रहेको फोरमले जनाएको छ ।

त्यसका लागि आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध गराउने तयारी गरिएको छ । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो ।

जसको समय आज मध्यरात देखि सकिँदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...