ऐतिहासिक सिन्धुलीगढी युद्धमा प्रयोग भएको खुँडा भेटियो

सिन्धुली, भदौ १९ । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ ।

वि. सं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँ डा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा वंशुधरका सन्तान हरिबहादुर थापाले युद्ध सङ्ग्रहालयलाई हस्तान्तरण गर्नुभएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

‘हरिबहादुरले हामीलाई घरमै बोलाएर म र वर्दबहादुर गण सिन्धुलीका गणपति विजय थापामार्फत उहाँले युद्ध सङ्ग्रहालयलाई भाले खुँडा हस्तान्तरण गर्नुभयो, उनले भने ।

नेपालले अङ्ग्रेजमाथि विजय प्राप्त प्राप्त गरेको स्थलमा बन्न लागेको युद्ध सङ्ग्रहालयमा राख्नका निमित्त उनले हस्तान्तरण गर्नुभएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

उनले भने, ‘युद्धकालीन समयमा प्रयोग भएका ऐतिहासिक घरेलु हतियारको खोजी हामीले गरिरहेका छौँ ।’ उनले आफ्ना पुर्खाले लडाइँमा ल ड्दा प्रयोग गरेका पुराना हात ह तियार भए सङ्ग्रहालयमा हस्तान्तरण गर्न नगरपालिकामा बसोबास गर्ने नगरबासीमा आग्रह गरे ।

कमलामाई नगरपालिका वडा नम्बर ३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको निर्माणसँगै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्रीको खोजी थालिएको हो ।

रतनचुराको खनियाँखर्कका स्थानीयवासीले पगरी, गैँडे ढाल, पोथी तरबार दिने भएको बताइएको छ । साविकको जलकन्या गाउँ विकास समितिमा पनि त्यस्ता सामग्री हुन सक्ने भन्दै खोजी गर्न थालिएको छ । ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गर्ने नगरप्रमुख खत्रीले बताए ।

१८ करोडको लगानीमा येस्तो बन्दैछ संग्रहालय

नगरप्रमुख खत्रीका अनुसार पहिलाका ऐतिहासिक वस्तुहरूलाई व्यवस्थित राखिन्छ। पुराना महाभारतका ऐतिहासिक घरहरु छन। ती घरहरुलाई यथावत राखी संग्राहलय बन्दैछ । बाहिरी संरचना मौलिकपना झल्किनेछ भने भित्री केही भागमा भने आधुनिक झल्किने खालका संग्राहलय बन्दैछ । संग्रहालयमा पुराना सामग्री प्रदर्शन कक्ष, पुस्तकालय, श्रव्यदृश्‍य,पाेखरीलगायत संरचना हुनेछन् ।

‘धेरै वस्तुहरू बनाउनुपर्नेछ,’ खत्रीले भने,‘हाम्रै कार्यकालमा सक्ने लक्ष्य छ। यो ऐतिहासिक जीत भएको युद्धकालको रणभूमि हो। यसको धेरै महत्व छ। संग्रहालय निर्माणको काममा हामी निरन्तर लागिपरिरहेका छौँ।’ करिब ३५ बिगामा फैलिएको सिन्धुलीगढी कमलामाई नगरपालिका ३ नम्बर वडामा पर्दछ।

ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढी

नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई दुई सय ५० वर्ष अगाडि नेपाली सेनाले पराजय गरेको स्थान सिन्धुलीगढी हो। सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थानको रूपमा सिन्धुलीगढीलाई लिने गरिन्छ। यो बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दूरीमा रहेको छ।

समुद्री सतहबाट १४ सय मिटर उचाइमा रहेको सिन्धुलीगढीमा अहिले पहिलाका जेलघर,अदालत लगायतका संरचनालाई तारबार र ढुंगाको गारो लगाएर व्यवस्थित गरी राखिएको छ। ती ठाउँ हेर्नका लागि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन्। हरियाली जंगल,ती ऐतिहासिक वस्तुहरूको दृश्यले त्यहाँ पुग्ने जो कोही मग्नमुग्ध हुने गर्छन्।

वि.स. १८२४ कात्तिक २४ गते इस्टइण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेज फौजलाई राजा पृथ्वीनारायण शाह फौजका वंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास पढ्न पाइन्छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 4, 2020