विद्युत प्राधिकरणमा कुलमान घिसिङनै दोहोरिने पक्का

काठमाडौं, भदौ २३ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव लैजाने तयारी गर्नुभएको हो। प्रस्ताव तयार भए सङै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङनै दोहोरिने पक्का भएको हो ।

मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान फाइल तयार गरिसकेको मन्त्रालयका एक अधिकारीले बताए।

                                                                              पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गर्नुभएका घिसिङलाई पुनर्नियुक्ति दिन नागरिक तहबाटै व्यापक माग भइरहेको छ ।

घिसिङ आफैंले भने केही दिनअघि विज्ञप्तीमार्फत् हालका प्रधानमन्त्री ओली र मन्त्री पुन एवं उहाँहरु भन्दा पहिलेका प्रधानमन्त्री र ऊर्जामन्त्रीहरुको नेतृत्व र योजनाअनुसार आफुले काम गरेर परिणाम निकालेको बताउनुभएको थियो।

कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल यही भदौ २९ गते आइतबार सकिँदै छ। उहाँलाई त्यसअघि नै पुनर्नियुक्ति दिएर निरन्तरता दिने मन्त्रालयले तयारी गरेको बताइएको छ।

                                                                                त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गर्नुभएको थियो। जसमा आफुले प्रधानमन्त्री ओली घिसिङलाई निरन्तरता दिन सकारात्मक रहेको पाएको मन्त्री पुनले सार्वजनिक रुपमै बताउनुभएको थियो।

सोमबार गृह जिल्ला रोल्पा जानुभएका मन्त्री पुन बुधबार काठमाडौं फर्किने उहाँका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले बताउनुभयो। प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै बनाउन प्रस्ताव लैजाने तयारी भएको स्वकीय सचिव चापागाईंले पनि पुष्टि गर्नुभयो।

                                                          काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 8, 2020
Loading...