विद्युत प्राधिकरण प्रमुख नियुक्ति छिट्टै हुन्छ : उर्जामन्त्री पुन

रोल्पा, भदौ २४ । ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण प्रमुख कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ ।

प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायतका विषयमा सरोकारवालासँग परामर्श गर्नुभएको थियो ।

चुनावी बाचा पूरा गर्दै मन्त्री पुन, रोल्पाका २६ सय खरको छानो जस्तामा परिणत हुने

रोल्पाका विपन्न तथा गरिब २ हजार २६ घरका खरको छानो जस्तामा परिणत हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ को पहलमा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तरगत उक्त घरहरुमा छानो राखिने भएको हो । आर्थिक वर्ष ०७७/०७८ को सुरक्षित नागरिक आबास कार्यक्रमबाट खरको छानोमुक्त हुने सुनिश्चित भएका हुन् ।

यसले विपन्न तथा गरिव रोल्पालीलाई निकै राहत हुने भएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्री पुनको संयोजकत्वमा मंगलबार सदरमुकाम लिबाङमा बसेको बैठकले २ हजार २६ घर परिवारलाई सुरक्षित आवासमा बस्न पाउने भएको जानकारी गराएको हो ।

नेपाल सरकार संघीय सरकारको बजेटबाट १० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत १ हजार ८ सय २६ घरधुरी यस आर्थिक वर्ष र गत क्रमागत २०० घर गरि २ हजार २६ खरको छानो भएका घरहरु जस्तापाताको छानामा परिणत गर्न लागिएको हो । रोल्पाबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका पुनको अध्यक्षतामा प्रदेश सांसद, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख र रोल्पाका १० वटै पालिका प्रमुखहरुबीच छलफल गरिएको छ । अब निवेदन आह्वान गरि अगाडि प्रक्रिया अगाडि बढाउने कार्यको थालनी गरिएको छ । यसको सामाजिक सहजीकरणमा समृद्ध रोल्पा फाउण्डेशनले गर्ने, सरकार र जनताको बीचमा तालमेल गरिने गरी रोल्पा समृद्ध फाण्डेशन रोल्पाका अध्यक्ष ओनसरी घर्तीले बताइन् ।

सदरमुकाम लिवाङमा मङलबार भएको छलफलमा पूर्वसभामुख ओनसरी घर्ती प्रदेश ५ सभा सदस्य दिपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको पनि उपस्थिति रहेको थियो । मन्त्री पुनको पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढेको पुनको सचिवालयले जनाएको छ । छानो मुक्त गर्ने कार्यक्रम मन्त्री पुनको चुनावी प्रतिबद्धताको कार्यक्रम समेत रहेको थियो । रोल्पा जिल्लामा विगतका आर्थिक वर्षमा पनि जनयुद्धका क्रममा शहीद परिवार, घाइते तथा अपाङ्ग, विपन्न परिवारको छानोमा जस्ता पाटाले छाएका छन् ।

यसअघि समृद्ध रोल्पा फाउण्डेसनमार्फत झण्डै ५ सय घरका खरको छानो फेरिएको थियो । बैठकले यस आर्थिक वर्षका लागि खरको छानो फेर्ने गरि प्रकृया अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ । फाउण्डेसनको संरक्षक समेत रहेका पुन निर्वाचित भएपछि जिल्लामा यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकामगरले आजको बैठकले यो वर्षको कार्यक्रम सुरु गर्ने निर्णय गरेको जानकारी गराए ।

रोल्पा जिल्लामा मन्त्री पुनको पहलमा अगाडि बढेको र गाउँपालिकाले पनि साझेदारीमा गरि गरिव तथा पीडितहरुको छानो फर्ने कार्यक्रम रोल्पामा लोक प्रिय बनेको रोल्पा नगरपालिका ओविलाल थापाले बताए । आफूलाई सो कार्यक्रमबाट निकै सहयोग गरेको बताए । अब जिल्लाका सबै स्थानीय तहले सूचना निकालेर विपन्न वर्गको घरका खरको छानोलाई जस्तापाताले विस्थापित हुने गरि प्रकृया अगाडी बढाउने छन् ।

यस कार्यक्रमको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि समानुपाति सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति सदस्य रहने व्यवस्था छ । सुरक्षित नागरिक आवास कार्यक्रमबाट २ हजार २६ घर परिवार बन्ने भएको छ । जस अनुसार रोल्पा नगरपालीकामा २५४ घर, त्रिबेणी गाउँपालिका २५१ घर, परिबर्तन गाउँपालिकामा १६४ घर, माडी गाउँपालिकामा १४० घर, रुण्टीगढी गाउँपालिकामा ३४४ घर, लुङ्ग्री गाउँपालिकामा ११० घर, गंगादेब गाउँपालिकामा १२४ घर, सुनछहरी गाउँपालिकामा १०१ घर, सुनिलस्मृती गाउँपालिकामा २१७ घर, थबाङ गाउँपालिकामा १२१ घरलाई स्थानीय तहले छनौट गरेका आधारमा गरीब परीवारलाई सुरक्षित जस्ता छानाले घर छुवाइने छ ।

रोल्पा जिल्लामा मन्त्री पुनको पहलमा सञ्चालन भएको नेपाल सरकारको लगानी तथा विभिन्न स्थानीयतहको साझेदारीमा सञ्चालन यो कार्यक्रम सबैभन्दा विपन्न वर्गमा पुग्ने लोकप्रिय कार्यक्रम बनेको छ । यसलाई अझै निरन्तरता दिनुपर्ने भन्दै नागरिकहरुबाट आवाज आउन थालेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 9, 2020
Loading...