मुल पलाएर झरना बग्न थालेपछि पर्यटकको आकर्षण बढ्दो

धादिङ, भदौ २५ । २०७२ सालको भुकम्पका कारण मुल नै सुकेपछि रोकिएको कल्लेरीको छाङ्गेटारस्थित झरनामा फेरि पानी बहन शुरु भएको छ । झरनामा पानी आउन थालेपछि घुम्न आउने पर्यटकहरुको घुइँचो नै लाग्न थालेको छ ।

को रोना भा इरसको संक्रमणका कारण लकडाउन भएपछि सो क्षेत्रमा झरना हेर्न र घुम्न आउने पर्यटकहरुको भिड देखिन थालेको हो ।अहिले यो झरना हेर्न दैनिक एक सयदेखि तीन सयसम्म पर्यटकहरु आउने गरेको स्थानीयहरुको भनाइ छ । गत महिनादेखि छाङ्गेटारमा रहेको झरनाको मुल पलाएको हो । परापूर्व कालदेखि धार्मीक एवं ऐतिहासिक महत्व रहेको यस झरनामा २०७२ सालको भुकम्प पछि पानी ठप्प भएको थियो ।

धार्मीक दृष्टिले महत्व राख्ने गुप्तेश्वरी गुफाको पाउबाट निस्किएको झरना भएकोले धादिङका स्थानीयहरुले यहाँको जललाई पवित्र जलको रुपमा लिँदै आएका छन् । यस भेगका मानिसहरुले घरमा कुनै पवित्र काम गर्नु परेमा यहाँकै पानी लगी चढाउने गर्दछन् ।

झरनाबाट झरेको पानीले नुहाएको खण्डमा आफुले मनमा लागेको कुरा पुग्ने जनविश्वास रहिआएको छ । झरनाको मुख्य मूलदेखि पानी जमीनमा झर्ने ठाँउसम्म ठूला साना धेरै वटा गुफाहरु छन ।

यो झरना हुँदै मुख्य गुफा गुप्तेश्वरीसम्म पुग्नका लागि धार्मिक पर्यटन मार्ग निर्माण गर्ने काम पनि शुरु भएको छ ।
झरनासम्म पुग्नका लागि सडक निर्माणको काम भइसकेको छ तर पर्यटकीय हिसावले प्रचार प्रसार नभएकाले छाङ्गे झरना ओझेलमा परेको हो ।

अब चाहिँ गल्छी गाउँपालिकाले यहाँको पर्यटन प्रवर्धनका लागि विषेश कार्ययोजना तयार पारेको जन-प्रतिनिधिहरुको भनाइ छ । पृथ्वी राजमार्गबाट निकै नजिक भएकोले पनि यसको महत्व बढेको उनीहरु बताउँछन । यो क्षेत्रका स्थानीयहरुलाई पर्यटन सम्वन्धी विभिन्न शिपमुलक तालिम दिई होमस्टे निर्माण गर्ने र ग्रामिण पर्यटनको विकास गर्ने योजना अनुसार काम अगाडि बढाइने गाँउपालिकाले जनाएको छ ।

यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेको खण्डमा यहाँको आर्थिक विकासमा समेत निकै टेवा पुग्ने स्थानीयको विश्वास छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 10, 2020