तीन देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदित

काठमाडौँ, भदौ २५ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उहाँहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठहयाई सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी(बेल्जियम र युरोपेली सङ्घ), तापस अधिकारी(पाकिस्तान) र रामकाजी खड्का(जर्मनी) लाई राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । यसअघि समितिले उक्त पदमा उहाँहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उ जूरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेकामा एकबाहेक अन्य उम्मेदवारप्रति लक्ष्य गरी उजूरी नआएको सभापति कर्णले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समावेशी भएन भनी सैद्धान्तिक प्रश्न उठाइएका चार वटा उजूरी इमेलमार्फत प्राप्त भएको थियो । प्रस्तावित राजदूत राजभण्डारीका नाममा भने बेरुजुसंँग जोडिएको एउटा उजुरी परेको थियो ।’ बैठकमा यसअघि आआफ्ना अवधारणा प्रस्तुत गर्दै प्रस्तावित राजदूतत्रयले पदमा रहँदा कानूनको उल्लङ्घन र अवहेलना हुने कुनै नगरिने प्रतिबद्धता जाहेर गर्दै जिम्मेवारीप्रति दत्तचित्त भई सेवा दिने मामिलामा खरोरुपमा उत्रने अठोट व्यक्त गर्नुभयो ।

राजदूतका रुपमा काम गर्दा सुधार गर्ने प्रशस्तै सम्भावना रहेको बताउँदै उहाँहरुले आफू खटिएको मुलुकबाट लगानी तथा सहयोग ल्याउन आर्थिक कूटनीतिमा जोड दिएर काम गरिने दृढता व्यक्त गर्नुभएको थियो । प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक व्यवस्था छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 10, 2020