नेकपाको महाधिवेशन चैत २५-३० गतेसम्म काठमाडौँमा गर्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पार्टीको महाधिवेशन आउँदो चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौमा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा अध्यक्षद्वयको प्रस्तावमा सदस्यहरुले उठाएका जिज्ञासाको अध्यक्ष दाहालले जवाफ दिएका थिए । बैठकमा उठेका प्रश्नको सम्बोधन गर्नेगरी अध्यक्षद्वयको प्रस्ताव पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

एमसिसीको हकमा यसलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। तर के संशोधन र परिमार्जन गर्ने भन्ने कार्यका पार्टीले झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर पार्टीले यस सम्बन्धमा छिट्टै निष्कर्ष निकाल्ने छ र त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइने छ।

आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, भीम आचार्य, घनश्याम भूसाल, रघु पन्त, लिलामणि पोखरेल, देव गुरुङ, मातृका यादव र नारायणकाजी श्रेष्ठले प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

नेकपा कमजाेर बनाउने असफल : प्रधानमन्त्री ओलि ,एकताको नयाँ ढोका खुल्याे : प्रचण्ड

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी असफल भएको हेर्न चाहने तत्वमाथि पार्टीले सफलता प्राप्त गरेको बताउनुभएको छ । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । ”बैठकले पार्टीको एकतालाई झन मजबुत बनाएको छ, यो सुदृढ एकताले हामीलाई असफल भएको हेर्न चाहने तत्वमाथि हामीले सफलता हासिल गरेका छौं’ प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभयो ।

पार्टीभित्र विगतमा केही असमझदारी र असहमति भएपनि अब पार्टीको कामलाई सुदृढ एकतासाथ अगाडि बढाउने उहाँले संकल्प गर्नुभयो । ‘देशी विदेशी शक्तिले हाम्रो पार्टी कमजोर भएको हेर्न चाहेका थिए, हाम्रो एकता र संगठित प्रयासले त्यसलाई असफल बनाउन सफल भएका छौं’ प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको एकता नयाँ उचाइमा पुगेको भन्दै उहाँले बाँकी एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको आन्तरिक असहमतिलाई सहमतिमा बदलेर ठूलो दु र्घटनाबाट पार्टी जोगिएको बताउनुभयो । ठूलो पार्टीभित्र आन्तरिक वैचारिक वहस हुनु सकारात्मक रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यही वैचारिक वहसबाटै पार्टीलाई नयाँ शिरामा रुपान्तरण गर्न सघाउ पुगेको बताउनुभयो । ‘अध्यक्षद्वयको प्रस्तावलाई स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेर एकताको नयाँ ढोका खोलेको छ, विगतको उतारचढावबाट शिक्षा लिंदै अब अघि बढ्नुपर्छ’ अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले गरेको निर्णयअनुसार आगामी एकता महाधिवेशनलाई सफल पार्ने प्रतिवद्धता उहाँले गर्नुभयो । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी भित्रको आन्तरिक द्वन्द्व समाप्त भएको बताउनुभयो । ‘दुई अध्यक्षबीच जुन विमति थियो, त्यो छलफलबाटै सर्वसहमतिले निर्णय भयो, अब पार्टीमा कुनै विमति बाँकी छैन’ उहाँले भन्नुभयो । उहाँकाअनुसार मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय भएको छ । प्रतिनिधिसभामा विचाराधिन रहेको सो सम्बन्धी विधेयक आगामी दिनमा पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनलाई आधार मान्दै परिमार्जन हुने उहाँले जानकारी दिनुभयो । एमसीसी कार्यदलमा नेता खनाल, भीम रावल र प्रदीप कुमार ज्ञवाली सदस्य रहनुभएको कार्यदलले पार्टीलाई यसअघि नै प्रतिवेदन बुझाईसकेको छ । एमसीसीलाई परिमार्जन गरी नेपालको हितमा हुनेगरी अनुमोदन गर्नुपर्ने सुझाव कार्यदलले दिएको थियो ।

असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक आज भदौ २६ गते सम्पन्न भएको छ । दुई महिना १६ दिनसम्म चलेको बैठकमा उठेका विषय, सुझावलाई समेट्दै अध्यक्षद्वयले तयार गर्नुहुने प्रस्तावलाई परिमार्जनसहित सर्वसम्मत पारित गरेको छ । बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बसी एकता महाधिवेशनबारे तयारी थाल्ने निर्णय गरेको छ । त्यसैगरी आगामी चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 11, 2020