सिन्धुलीका प्रशुन सिन्धुलीयले जिते लुघु चलचित्र पुरस्कार

सिन्धुली, भदौ २६ । नेपाली सेनाले २०६७ सालदेखि गर्दैआएको ‘लघु चलचित्र प्रतियोगिता २०७६’ मा सिन्धुलीका प्रशुन सिन्धुलीयको लेखन तथा निर्देशन रहेको ‘देशलाई छुने पाइला’ लघु चलचित्र प्रथम भएको छ । यस्तै, पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ तृतीय भएको छ ।

विजयीहरूले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रूपियाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुयभो । सो अवसरमा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिल कुमार महर्जनको ‘गौरव’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रूपियाँ प्रदान गरिएको थियो ।

बन्दाबन्दीले तोकिएको मितिभन्दा करिब छ महिना पछाडि धकेलिदिएको समापन र पुरस्कार वितरण समारोह २६ गते शुक्रबार जंगी अड्डा, सुन्धाराको भव्य हलमा उत्कृष्ट दस चलचित्रको प्रोजेक्शन सहित गरिएको थियो । समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासहित निर्णायकहरु र सहभागी अन्य उत्कृष्ट दस चलचित्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उकत लघु चलचित्र प्रतियोगितामा ३८ वटा चलचित्र सहभागी भएका थिए । उत्कृष्ट दस स्क्रिप्टलाई जनही ३५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट भएसँगै प्रशुुुन सिन्धुलीयको टिमले उत्कृष्ट स्क्रिप्टको नगदसहित नगद दुई लाख पैँतिस हजार र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पुरुषोत्तम बस्नेतको ’रगत’ र तृतीय हुने वसन्त शर्मा अधिकारीको ’लक्ष्य’ ले क्रमश एक लाख पचास हजार र एक लाख नगद पुरस्कार पाएका थिए ।

जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नतिजाको विवरण सार्वजनिक गरेको छ । पुरस्कार पाएपछि हौसिएका चलचित्र निर्देशक प्रशुन सिन्धुलीयले ‘बन्दाबन्दीले थिलथिलो बनाइदिएको मस्तिष्कलाई पुरस्कारले मलजल गरिदिएको’ अभिव्यक्ति दिए । ‘यो मेरो मात्र जित हैन, हाम्रो समूहकै जित हो, सबै सिनियर र साथीहरूको सहयोगले यो सम्भव भएको हो’ उनले थपे ।

सर्वोत्कृष्ट पुरस्कृत भएको फिल्म ‘देशलाई छुने पाइला’ मा रङ्गकर्मीहरूको वर्चश्व थियो । सिनियर रङ्गकर्मी टंक चौलागाईँ, इङ्गी होपो कोइँच सुनुवार,सबिर चुरौटे, सुचित्रा उप्रेती, हीरा महर्जन र लिजा मोतेको अभिनय रहेको थियो । कथा, पटकथा, निर्देशन प्रशुुुन सिन्धुलीयकै रहेको थियो भने प्रकेश सिन्धुलीयले सम्पादनमा साथ दिएका थिए ।

प्रकाशित मिति September 11, 2020