राष्ट्रिय सभाको गरिमा बढाउन आएको छु : बामदेव गौतम

काठमाडौं, असोज १ । आजै राष्ट्रिय सभा सदस्य मनोनित बामदेव गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन राष्ट्रिय सभामा आएको बताएका छन्।

बिहीबार सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजना गरिएको समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ ग्रहण गरेपछि मन्तव्य राख्दै गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिष्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरे।

‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु,’ गौतमले भने,‘मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।’

उनले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संविधानबमोजिम उपस्थित भएको छ,’ उनले भने,‘त्यसका लागि म आफूलाई समर्पित गर्नेछु। त्योभन्दा मेरो कुनै अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन।’

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 17, 2020