काभ्रेको तीनधारे झरना हेर्न आउनेको घुइँचो (फोटो-फिचर)

काभ्रे, असोज २ । सामाजिक सञ्जालमा बहुबली झरनाको नामले चिनिएको काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ मा रहेको तीनधारे झरनाले यतिबेला धेरै चर्चा बटुलेको छ । मनै लोभ्याउने यो झरनाले धेरैको मन तानेको छ । अहिले युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेका तस्बिर फेसबुक, इन्स्टाग्राममा राख्ने र भिडियो बनाएर टिकटकमा राख्ने क्रम ह्वात्तै बढेको छ ।

झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौँ, भक्तपुरका मानिस जाने गरेको पाइएको छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव निकै आकर्षक देखिन्छ । धुलिखेलबाट ३० किलोमिटर दूरीमा यो झरना छ । बिहान सबेरैदेखि काठमाडौँबाट भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुलीको बिपी राजमार्गको बाटो हुँदै नमोबुद्ध, दाप्चा, जरुवा खोलाको यात्रापछि काफल डाँडाबाट एक घण्टा हिँडेर झरनामा पुग्न सकिन्छ ।

तीनधारे झरना संयोजक समितिका अध्यक्ष वीरबहादुर मगर झरनामा पहिलेदेखि नै कसैको आँखा नपुगेको बताउनुहुन्छ । विगत एक महिनादेखि मात्र सो झरना लोकप्रिय भएको र गत माघमा केही व्यक्तिले ड्रोनबाट फोटो, भिडियो खिचेपछि चर्चा पाएको सुनाउनुभयो । अहिले शनिबारबाहेक दैनिक झण्डै हजार जना झरना हेर्न आउने गरेका छन् । शनिबार मात्र २ देखि ३ हजारसम्म आउने गरेका छन् ।’, उनले भने ।

स्थानीय बासिन्दा राममाया मगरले झरनामा बाहिरका मानिसको आकर्षक बढेको जानकारी दिनुभयो । झरनाका बारेमा फेसबुकबाट थाहा पाएपछि झरना हेर्न पुग्नुभएका काठमाडौंका रोशन सापकोटाले झरना हेरेपछि बाटोको थकान सबै मेटिने अनुभव व्यक्त गर्नुभयो ।

काठमाडौं उपत्यका आसपासका स्थानहरुमा रहेका झरनाबाट केही फरक र साहसिक यात्रा अनुभव गर्न चाहनुहुन्छ भने तीनधारे झरना उपयुक्त गन्तव्य हुनसक्छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद । तस्बिर : ईकान्तिपुरबाट

प्रकाशित मिति September 18, 2020
Loading...