मदन भण्डारी फाउन्डेसन विघटन गरिनुपर्छ : माधव नेपाल

काठमाडौं, असोज २ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीभित्र मदन भण्डारी फाउन्डेसनको नामबाट गुट चलाईएको गम्भीर आरोप लगाएका छन् । उनले अब कुनैपनि फाउन्डेसनका नामबाट पार्टीभित्र गतिविधि हुन नहुने भनाई राखेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले मदन भण्डारी फाउन्डेसन विघटन गर्नुपर्ने माग राखेका हुन । उनले भनेका छन्,‘फाउन्डेसनले पार्टीमा गुट जन्मायो । त्यो फाउण्डेशनमा गुटको मान्छेबाहेक कोही छैन् । पार्टीको मान्छे कोही छैन् ।’ नेता नेपालले पार्टी अब समाजवादतर्फ गइसकेको सुनाउँदै जनताको बहुदलीय जनवाद छोडिसकेको पनि स्पष्ट पारे ।

अर्को प्रसङ्गमा नेता नेपालले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् गरिएकोमा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले आजको बैठक केही समयको लागि बसेर स्थगित् गरेको भए पनि राम्रै सन्देश जाने थियो भन्ने धारणा राखेका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेर देशभरिका नेता/कार्यकर्तालाई संविधान दिवस भव्य रुपमा मनाउन सर्कुलर गर्न सकेको भएपनि राम्रै सन्देश जानेथियो भन्ने उनको भनाई छ ।

नेकपा सचिवालय बैठक आज बस्ने भनिएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित् भएको सूचना प्रवाह भएको थियो । नेकपा सचिवालय बैठक पहिलो पटक तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय रहेको पेरिसडाँडामा बस्ने भनिएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद । तस्बिर : रिपोर्टस नेपाल

प्रकाशित मिति September 18, 2020
Loading...