नेकपा सचिवालय बैठक बस्दै, त्यसअघी मन्त्रिपरिषद बैठक

काठमाडौं, असोज ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । कोटेश्वरको पेरिस डाँडामा हिजो बस्ने भनिएको बैठक आज साँढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार सारिएको थियो ।

सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । सचिवालय बैठकवाट मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने नेकपाको तयारी छ । प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

त्यस्तै दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने चारवटा प्रस्तावमा सचिवालयमा छलफल सुरु भएको छ । बैठकमा संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

बैठकमा सांगठनिक एकीकरणका काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेका सदस्यहरूको पदपूर्ति, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैबीच नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बालुवटारमा अब केही बेरमा शुरु हुने एक मन्त्रीले बताए । आजको बैठकमा को भिड १९ लगायत अन्य नियमित विषयमा छलफल हुनेछ । सोमबार बस्नुपर्ने नियमित बैठक बसेको थिएन । त्यसैले आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

 

प्रकाशित मिति September 22, 2020