प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने – सरकारले अहिलेसम्मकै राम्रो काम गरेको छ, प्रचार भएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनमा म्याराथन छलफल चलिरहेका छन् ।

आज पनि दिउँसो ओली प्रचण्डबीच बालुवाटारमा लामै छलफल भएको छ । छलफलको विषयबस्तु मन्त्रिमण्डल पुनर्गठन भए पनि ओली प्रचण्डबीचको छलफलमा अन्य विषयबस्तुले प्राथमिकता पाउने गरेका छन् ।

ओली-प्रचण्डबीचको छलफल बारेमा जानकारी लिएका एक सचिवालय सदस्यले भने, ‘उहाँहरुबीच निरन्तर छलफल भए पनि विषयबस्तुमा केन्द्रित भएर छलफल हुन सकेको छैन । आजको छलफल पनि अन्तिममा अडानमै केन्द्रित भयो । म्याराथन छलफल चलिरहे पनि दौड पूरा हुन सकेको छैन ।’

आजको छलफलमा विभिन्न अनौपचारिक विषयबस्तुमा छलफल भएको छ । थोरै समयमात्र विषयबस्तुमा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ । भारत चीन सम्बन्ध र नेपालको भूमिका, ओलीको राजनीतिक जीवनको सुरुवात, खानेकुरा लगायतका अनौपचारिक विषयबस्तुमा अध्यक्षद्वयबीच छलफल हुने गरेको छ ।

आज पनि २०/२५ मिनेटमात्र मन्त्रिपरिषद् पुनर्गठन र पार्टीका विषयमा छलफल भएको स्रोतको दावी छ । विषयबस्तुमा केन्द्रित आजको छलफलमा ओलीले प्रचण्डलाई भने, ‘अब तीन जना परिवर्तन गरौँ, तीनजना राज्यमन्त्री हटाएर नयाँ थप गर्न सकिन्छ । अब मापदण्ड छाडौँ ।’

प्रचण्डले ओलीसँग भने, ‘पुनर्गठन भनेर स्थायी कमिटीले दिएको म्याण्डेट तीन जनामात्र होइन । त्यसरी राम्रो पनि हुँदैन । आम नागरिकमा काम भयो है भन्नेगरी काम गर्ने युवा नेताहरुलाई सरकारमा सहभागी गराएर चुनाव केन्द्रित हुनुपर्छ । अहिलेको अवस्थामा सरकारको कामको गति राम्रो छैन ।’

फेरि ओलीले भने, ‘अहिले भइरहेका साथीहरुलाई पनि डिमोसन फिल नहुनेगरी गर्नुपर्छ । मलाई सपोर्ट गर्नेखालका साथीहरुलाई सहभागी गराउनु पर्छ । त्यसैले ६ जना नयाँ थप्न सकिन्छ । त्यसरी अगाडि बढ्दा राम्रो हुन्छ । सरकारले राम्रो काम गरेको छ । जनतामा प्रचार राम्रो भएको छैन । सरकारले धेरै राम्रो काम गरेको छ । सरकारले अहिलेसम्मकै राम्रो काम गरेको छ, प्रचार भएन ।’

प्रचण्डले जनतामा सरकारको कामको गतिमा राम्रो प्रभाव नभएको बताए । उनले भने, ‘जनतामा प्रचारको कुरामात्रै होइन, सरकारले गरेन भन्ने परेको छ । सरकारको मात्र होइन, पार्टीको अवस्था राम्रो भएको छैन । त्यसैले हामीले कामलाई प्राथमिकता दिनुपर्छ । अहिलेकै टिमबाट त्यो अपेक्षा गर्न सकिन्न ।’

ओली र प्रचण्डबीच झण्डै २०/२५ मिनेटको विषयबस्तु केन्द्रित छलफल पहिलेकै कुरामा केन्द्रित भएपछि भोलि फेरि छलफल गर्ने भन्दै दुबैजना उठे । प्रचण्ड बालुवाटारबाट पार्टी कार्यकर्ता भेट्न पार्टी कार्यालय पेरिसडाँडा पुगे ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ।

प्रकाशित मिति September 28, 2020
Loading...