भूपरिवेष्टित राष्ट्रलाई वित्तीय सहयोग गर्न प्रधानमन्‍त्रीको आह्‍वान

काठमाडौं, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई म हामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोगका लागि आह्वान गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका अवसरमा न्युयोर्कमा मंगलबार भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, को भिड १९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान संकटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत रहेको उनले बताए।

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै संकटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको उनको भनाइ छ।

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा उनले जोड दिएका छन्। दिगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थलाई प्रधानमन्त्रीले प्रस्तुत गरेका छन्।

‘बाह्य जगत्बाट सहयोगस्वरुप लगानी तथा प्रविधि हस्तान्तरणको आवश्यकता परेको छ’, ओलीले भने। प्रधानमन्त्रीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका स्वास्थ्य प्रणालीलाई सबल बनाउन तथा पुनरुत्थान र पुनःनिर्माणको प्रक्रियाका आवश्यकतामा भरथेग गर्न राष्ट्रसङ्घीय प्रणाली, अन्तरराष्ट्रिय समुदाय तथा अन्तरराष्ट्रिय वित्तीय संस्थालाई आह्वान गरेका छन्।

महासंघका महासचिव एण्टोनियो गुटरेस तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीले सञ्चालन गरेको उक्त बैठकमा ४१ देशका राष्ट्राध्यक्ष सरकार प्रमुख, छ जना मन्त्रीसहित ६० वक्ताले भाग लिएका थिए। रासस

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति September 30, 2020