उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुष तथा भक्तपुरमा ५३ महिला र ४० पुरुष सङ्क्रमित थपिएका हुन् ।

त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका १२ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।

काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । र मकवानपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको होे ।
पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । चौबीस घण्टामा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।                                                                                  त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका दुइ महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति September 30, 2020
Loading...