सिन्धुलीगढीलाई पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : मन्त्री भट्टराई

काठमाडौँ, असोज १५ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिनका अवसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सांसद हरिबोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्तले सो पुस्तकको आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले सिन्धुलीगढीमा वीर गोर्खालीले अँग्रेजी सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्वाह गरेकाले सिन्धुलीगढीको विकास गर्न सरकारले काम गर्ने बताउनुभयो ।

उहाँले अँग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका रुपमा विकास गर्न सकिने पनि बताउनुभयो ।

मन्त्री भट्टराईले सिन्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना रहेको जनाउनुभयो साथै उहाँले सिन्धुलीगढीदेखि फिक्कलबीचका क्षेत्रमा हिलस्टेशन बनाउन सकिने सम्भावना बारे चर्चा गर्नुभयो ।                                                                                     

सांसद गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरवार पुनर्निर्माण गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीगढीको पर्यटन विकासमा हुनुपर्ने जति काम हुन नसकेको बताउदै सिन्धुलीगढी दरबार पुनर्निर्माण र गढीको संरक्षण कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्नेबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा इतिहासकार प्रा पन्तले सिन्धुलीगढीले नेपालको एकिकरणमा समेत भूमिका निर्वाह गरेको उल्लेख गर्दै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउन नहुनेमा जोड दिनुभयो । रासस

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 1, 2020
Loading...