अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए वडादशैंको शुभकामना

असोज १२,सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना दिएका छन् । आइतबार घटस्थापनाको दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री मोरिसनले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गरेका छन् ।

दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेको अष्ट्रेलियाको बहुसँस्कृतिको याद आउने उनले उल्लेख गरेका छन् । साथै आस्था र पृष्ठभूमि जे भए पनि एकअर्कालाई स्वीकार र सम्मान गर्दै विशेषाधिकार तथा जिम्मेवारी हामी सबैलाई मिलोस् भनेर अष्ट्रेलियाले प्रतिज्ञा गरेको उनले बताएका छन् ।


उनले बिभिन्न देशबाट आएर बसोबास गरिरहेका हिन्दु समुदायले अष्ट्रेलियालाई पृथ्वीकै सबैभन्दा शान्तिपूर्ण र बहुसाँस्कृतिक राष्ट्र बनाएको भन्दै धन्यवाद पनि दिएका छन् ।

टिकाको शुभसाइत १० बजेर ३५ मिनेटमा…

हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

यो हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गरिन्छ। यस वर्ष असोज २१ गते परेको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

उनका अनुसार विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भएपनि उत्तम साइत भने १० बजेर ३५ मिनेटमा रहेको छ । यस्तै असोज २६ गते आइतबार दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ।

वडा दशैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यस दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस् दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरि विजया दशमीको दिन दुर्गा देवीको प्रसाद लगाउने गरिन्छ।

प्रकाशित मिति September 29, 2019