बाहिरबाट मान्छे ल्याए प्राधिकरण प्रमुखमा मेरो दाबी रहन्छ : हितेन्द्रदेव शाक्य

काठमाडौं, असोज १७ । ‘नेपाल विद्युत प्राधिकरणले इञ्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्कें। आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो। यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु’, कुरा सुरू गर्दै प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने।

प्राधिकरणभित्र विशेषगरी प्राविधिक क्षेत्रमा अब्बल ठहरिएका र वरिष्ठ उपकार्यकारी निर्देशकहरूमध्ये शीर्षस्थानमा रहेका शाक्यलाई तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै उक्त कम्पनी स्थापना गरेर जिम्मेवारी दिएका हुन्।

कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १७ प्रतिशत, एचआइडिसीएलको १५ र विद्युत् उत्पादन कम्पनीको १७ प्रतिशत शेयर हिस्सा छ।

परामर्श एवं इञ्जिनियरिङ सेवामा विदेशिने ठूलो रकम जोगाउँदै दक्ष जनशक्ति निर्माणमा कम्पनीले भूमिका खेलिरहेको छ।                                                                   

शाक्य ती दिन स्मरण गर्दै भन्छन्, ‘चिठ्ठीपत्र पनि आफैं लेख्थें, पुर्‍याउन पनि म आफैं जान्थें, कार्यालय बनाउँदै थियौं, दक्ष कर्मचारी पनि खोज्दै थियौं। आज काम देखाउने ठाउँमा आइपुगेका छौं।’

गतिलो सरकारी परामर्शदाता कम्पनी नहुनुको पीडा देशले लामो समयसम्म भोग्यो। अमेरिकी डलर खर्च गरेर निम्त्याइने विदेशी परामर्शदाताले दिने प्रतिवेदन हाम्रो सापेक्षतामा नमिल्ने, मिलिहाले पनि व्यवहारिक नहुने अवस्था थियो।

उनीहरूले दिने सुझावलाई बुझ्ने, हाम्रो सन्दर्भमा मिल्छ वा मिल्दैन भनेर पत्ता लगाइदिने संयन्त्र नहुँदा वर्षौंअघिदेखि चर्चाको शिखरमा रहेका आयोजना अझै अ लपत्र छन्।

बूढीगण्डकी र पश्चिम सेती आयोजना त्यसका उदाहरण हुन्।

स्वदेशी प्राविधिकले हाम्रो भूगोल सुहाउँदो डिजाइन गरौं भन्दा नमानेर एक नर्वेजियन कम्पनीको प्रस्ताव मानेका कारण विसं २०७२ मा नै निर्माण सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोशी कहिले सकिने हो त्यसको कुनै ठेगान छैन।

ऊर्जा मन्त्रालयले विसं २०७२ मा सार्वजनिक गरेको ऊर्जा सङ्कटकालीन कार्ययोजनाले लिएका लक्ष्य पूरा गर्ने ध्येयका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनीको रूपमा विसं २०७३ मा उक्त कम्पनी स्थापना गर्‍यो।                 

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको कार्यकालका सफलताका सूचकहरू मापन गर्ने अनेकन काम मध्येको एक थियो सो कम्पनीको स्थापना र त्यसले गर्दै आएका काम।

तीन वर्षको अवधिमा ३७ आयोजनामा कम्पनीले काम गरिरहेको छ। तीमध्ये केहीको काम सकिए भने केहीको काम चालू आर्थिक वर्षको अन्त्यसम्म पूरा गर्ने लक्ष्य छ।

कूल लागतको आधारमा झण्डै रु सात खर्ब बराबरको परियोजनामा कम्पनीले अध्ययन तथा प्राविधिक काम गरिरहेको छ, तर अध्ययनका लागि प्राप्त गरेको रकम असाध्यै न्यून छ।

झण्डै एक हजार मेगावाट क्षमताका आयोजनाको सबै अध्ययन सकेर बोलपत्रको कागजात तयार भएको छ।

झण्डै दुई हजार मेगावाट क्षमताको मुगु कर्णालीको अध्ययन जारी छ। विदेशी परामर्शदाताको भन्दा समय र लागतका हिसाबले असाध्यै न्यून मूल्यमा कम्पनीले काम गरेको छ।

कूल ४८० मेगावाटको फूकोट कर्णाली, ४४२ मेगावाटको बेतन कर्णाली, १०८ मेगावाटको जगदुल्ला र ४५० मेगावाटको किमाथाङ्का अरुणको काम सम्पन्न हुने क्रममा छ।

एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको विस्तृत अध्ययन तथा डिजाइनमा कम्पनी संलग्न छ।

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत, स्रोतको व्यवस्थापन भइसकेको परियोजनमा टनेल बोरिङ मेसिनसमेत प्रयोग गरिँदैछ।

कूल ४०० केभी क्षमताको इनरुवा र हेटौंडा सबस्टेसनको काम चालू छ। किमाथाङ्का अरुणको सम्पूर्ण संरचना र प्रसारण लाइनको विस्तृत डिजाइनमा कम्पनीले छोटो समयमा देखाएको काम अन्य सरकारी निकायका लागि समेत अनुकरणीय छ।

कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा समेत लगानी बोर्डले आयोजना अनुगमनको जिम्मेवारी दिएको छ।

यस्तै, २० मेगावाटको रोल्वालिङ, २५ मेगावाटको ग्रिड कनेक्टेड सोलार परियोजना, त्रिशुली थ्री बी रातमाटे २२० केभी प्रसारण लाइन, १०० मेगावाटको तामाकोशी पाँचौं र कुशाहा–विराटनगर प्रसारण लाइनको टावर डिजाइन र त्रिशूली जलविद्युत् आयोजनाको मर्मतसम्भारमा समेत कम्पनीको भूमिका कुनै अन्तर्राष्ट्रिय परामर्शदाताको भन्दा कम छैन।

नेपालका अधिकांश जलविद्युत् आयोजनाको अध्ययनका विभिन्न चरण छन्। सामान्यता पूर्व सम्भाव्यता अध्ययनदेखि बोलपत्रसम्म पुग्न मात्रै चार चरण पार गर्नुपर्छ तर कम्पनीलाई सुरूमा नै विद्युत् उत्पादन कम्पनीले १८ महिनामा काम सक्नु भनेर आयोजना सुम्पियो।

‘कि गाली खाइएला, कि त ताली पाइएला भनेर काम सुरू गरेको छोटो समयमा नै हामीले झण्डै एक हजार मेगावाट बढी क्षमताका आयोजनाको अध्ययन पूरा गरेर बुझाएका छौं’, प्रबन्ध सञ्चालक शाक्यले भने, ‘को रोना भाइरसको जोखिम नभएको भए गत असारमा नै सबै काम सकिन्थ्यो।’

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले फर्पिङमा एक शताब्दी पहिले जलविद्युत् आयोजना निर्माण गर्दादेखि नै नेपालमा विदेशी परामर्शदाता र ठेकेदारको बिगबिगी रह्यो।

उनीहरूले दिने प्रतिवेदन कतिपय अवस्थामा हाम्रा लागि काम नलाग्ने खालका थिए तर त्यसलाई स्वीकार गर्नुको विकल्प थिएन। मेलम्ची खानेपानी आयोजना त्यसको एउटा उदाहरण हो।

यतिबेला सरकारी तथा निजी क्षेत्रबाट झण्डै छ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन्।

विद्युत् खरिद सम्झौता भएका आयोजना समेत गरेर झण्डै १० हजार मेगावाट बराबरको आयोजना निर्माणमा जाँदै छ।

निजी क्षेत्रले निर्माण गर्ने आयोजना २५ वर्षपछि राज्यको जिम्मामा आउँछ। ती आयोजनामा प्रयोग भएको प्रविधि, निर्माण सामग्री तथा उपकरणको विषयमा समेत बेलैमा ध्यान दिनु जरूरी छ।

यो अवस्थामा प्रविधिको समग्र विषयमा जानकारी राख्ने संस्थाका रूपमा समेत कम्पनीलाई स्थापित गर्ने कम्पनीको योजना छ।

बाहिरको मान्छे आए मेरो दाबी रहन्छ

प्राधिकरणको शान बढाउने काममा कुलमानको सहयोगी भएर काम गरेका शाक्यलाई हामीलाई सोध्यौं– प्राधिकरणको कार्यकारी निर्देशक हुने इच्छा छैन तपाईंको ?

उनले भने,‘इन्जिनियरिङका हिसाबले अहिले गरिरहेको काममा नै म सन्तुष्ट छु, तर राज्यले मेरो योग्यताको मूल्याङ्कन गरेर दिने जिम्मेवारीमा भने तयार नै छु।’

कम्पनी स्थापना गर्दा आफ्नै रहरले आएको बताउने शाक्यलाई सधैं आफू पन्छाइरहने त होइन भन्ने आशंका छ।

‘कुलमानजीलाई प्राविधिक रूपमा सहयोग गरेकै हो। उहाँसँग काँधमा काँध मिलाएर काम गरेकै हो। सबै हिसाबले म सक्षम मान्छे हो। बाहिरबाट नयाँ नयाँ मान्छे ल्याउने हो वा दिने हो भने कार्यकारी निर्देशकमा मेरो पनि दाबी रहन्छ।’

पूर्वको इलाम बजार स्थायी घर भएका शाक्य कोलम्बो प्लानको छात्रवृत्तिमा बिई गरेका छन् भने नर्वे र काठमाडौं विश्वविद्यालयबाट उच्च अध्ययन गरेका छन्।

उनले मुगुको गमगाड साना जलविद्युत् आयोजनादेखि, कालीगण्डकी र चिलिमे समेत बनाएको अनुभव सुनाए।

निवर्तमान कार्यकारी निर्देशक घिसिङसँग सधैं सहकार्य गरेको र अमेरिकी सहयोग परियोजनाको काममा भने प्रतिस्पर्धा भएको सुनाए।

‘कुलमानजी र मैलेसंँगै प्रतिस्पर्धा गरेका थियौं, म छानिएँ। यद्यपि, पछिल्लो चार वर्षमा हामी सबैले मिलेर प्राधिकरणलाई प्राधिकरण बनायौं, अझै धेरै गर्न बाँकी छ’, उनले भने। – अनलाइनखबरबाट ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 3, 2020
Loading...