दु:खद खबर : दुबईमा बस दुर्घटनामा परी ६ नेपालीको मृत्‍यु (ठेगाना सहित)

दुबई — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।

नेपाली दूतावासका अनुसार मृत्यु हुनेहरूमा रमेश चौधरी (धनकुटा), दान बहादुर सत्याल ( सर्लाही), कृष्णबहादुर पुन ( पाल्पा), नारायणप्रसाद पाेखरेल( नवलपरासी) ,दीपक विक ( सुनसरी, धरान) र नयराम साउद ( कैलाली) रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

 

दुर्घटना परी अन्य ६ जना घाइते छन्।दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ । घाइते भएकाहरु भने नेपाली नागरिक नरहेको युएई स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

दुबई र सारजाहको सिमानामा पर्ने मिर्दीफ सिटी सेन्टर नजिक सेख महमद बिन जायद सडकमा नेपाली कामदारलाई बोकेको बस लरी ट्रकमा गएर ठोक्किदा दुर्घटना भएको हो। दुर्घटना सोमबार बिहान ४:५४ मा भएको थियो। उनीहरु डिउटीका लागि कार्यस्थल जादै थिए ।

 

दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईका अनुसार माइक्रो बसमा १३ जना सवार थिए। मृतकहरुको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।

युएई रहेका बिभिन्न संघ सस्थाले यस दुखद घडीमा सबै आम नेपालीहरूमा सहयोगको लागी अपिल गर्नुको साथै मृतकहरुको पार्थिब शरिरलाई यथासिघ्र स्वदेस फर्काउन नेपाली राजदुतावासलाई आग्रह गरेको छ ।

प्रकाशित मिति October 1, 2019