तेल फेरि तताएर प्रयोग गर्नुहुन्छ ? क्यान्सर र मुटुरोगको हुन्छ खतरा

एकपटक प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्ने गर्नुहुन्छ ? यदी गर्ने गर्नु भएको छ भने सचेत हुनुहोस् यो स्वास्थ्यका हिसावले खतरनाक बन्न सक्छ ।

घरमा भन्दा पनि बाहिर खाइने खानेकुराहरु एक पटक प्रयोग गरिसकेको तेललाई पुन तताएर प्रयोग हुने गरेको हामीले देख्ने गरेका छौं ।

जस्तो मिठाइपसलमा मिठाइका परिकार बनाउने तेल कयौं दिनसम्म प्रयोग हुने गरेको पाउन सकिन्छ भने मासु तार्ने तेल पनि तताएर पुन प्रयोग भएको पाउन सकिन्छ । यदी यस्तो तेलमा पकाएको खानेकुराको प्रयोग गरियो भने मुटुसम्बन्धी समस्या देखिने जोखिम रहन जान्छ ।

तेललाई पटक पटक तताउँदा अल्डिहाइड नाम गरेको टोक्सिन उत्पन्न हुन्छ ।

यस्तो तेलको सेवन गरेपछि यसमा भएका टोक्सिनहरुले शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्‍याउन सक्छ ।

सूर्यमुखीको तेल, भटमासको तेललाई पटक पटक तताउदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्स फ्याटमा
परिणत हुनसक्छ ।

ट्रान्स फ्याट एक प्रकारको अनस्याचुरेटेड फ्याट हो, जसले नराम्रो कोलेस्ट्रोल एलडीएल कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोल एचडीएललाई घटाएर मुटुमा ब्लकेज हुने सम्भावना बढाउछ ।

ट्रान्स फ्याट चाहिं स्याट्रर्ड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउछ ।

तेललाई पटक पटक तताउदा एक प्रकारको फोर हाइड्रोक्साइ ट्रान्स २ नोनिनल (एचएनई) नाम गरेको टोक्सिन बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ ।

त्यसैले तताएको तेललाई पुन प्रयोग गर्ने बारे विचार नगर्नुहोस् र बाहिर खाना खाँदा पनि यी पक्षबारे ध्यान दिनुहोस् ।

र यो पनि ..

सबैले पढ्नैपर्ने यस्तो छ डेंगुको आयुर्वेदिक उपचार

डेंगु भाइरसको संक्रमणबाट हुने र एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगुको भाइरस फ्लाभी जिनस अन्तर्गत पर्छ, जसको जीवनचक्र मानव र एडिस एजिप्टाई नामको पोथी लामखुट्टेमा पूरा हुन्छ।

प्रायः दिउँसो टोक्ने यो लामखुट्टेले घर वरिपरि जम्ने सफा पानीका स्रोतहरु, एयरकन्डिसन तथा रेफ्रिजेरेटरको पानी जम्ने भाग, खाली ड्रम, मोटरका टायरहरु तथा पुराना भाँडाकुँडामा जम्ने पानीमा प्रजनन् गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु रोग विश्वका सयभन्दा बढी देशमा देखिएको छ। यसबाट लगभग ५० करोडदेखि एक अर्ब व्यक्ति प्रतिवर्ष प्रभावित हुन्छन् र तीमध्ये २० हजार जना जतिको मृत्यु हुन्छ।

नेपालमा पनि यो रोग डेढ दशकदेखि गर्मी र वर्र्षातको समयमा बेलाबेलामा महामारीको रुपमा देखापर्छ। यस वर्ष पनि वैशाख महिनादेखि फाट्टफुट्ट रुपमा देखापरे तापनि अहिले आएर व्यापक रुपमा फैलिएको छ।

सात वटै प्रदेशका लगभग ६० भन्दा बढी जिल्लामा डेंगुको संक्रमण देखापरेको छ। जसबाट लगभग ११ हजार जनाभन्दा बढी प्रभावित भएका छन् भने प्रदेश ३ बढी प्रभावित देखिएको छ, जहाँ ६ जनाको मृत्यु भएको तथ्यांक छ।

डेङ्गु रोगका मुख्य लक्षण
डेंगु रोगलाई ब्रेक बोन फिभर पनि भनिन्छ, किनभने यस रोगमा तीव्र ज्वरो आउनुका साथै मांसपेसी र हाडहरुमा तीव्र पीडा हुन्छ। डेंगु रोगमा देखिने लक्षणहरु यस प्रकारका छन्ः
– अरुचि
– वाकवाकी लाग्नु तथा वान्ता हुनु
– टाउको दुख्नु
– हातखुट्टामा बिमिरा आउनु
– आँखा पछाडि दुख्नु
– उच्च र तीव्र ज्वरो आउनु
– जोर्नी तथा मांसपेसीहरु दुख्नु तथा सुन्निनु
– नाक तथा गिजाबाट रक्तस्राव हुनु
– डेंगुको जटिलतामा डेंगु सक सिन्ड्रोम र डेंगु हेमोरेजिक फिभर हुनु ।

डेंगु र आयुर्वेद 
डेंगु रोगको प्रत्यक्ष वर्णन आयुर्वेद संहिताहरुमा पाइँदैन। यसलाई ज्वर रोग अन्तर्गत विकृति विषम समवायरब्ध सन्निपातिक ज्वर अन्तर्गत राख्न सकिन्छ। माधव निदान अनुसार यसलाई दण्डक ज्वर मान्न सकिन्छ। सुश्रुत संहिता कल्प स्थान अध्याय ८ मा विभिन्न कीटजन्य रोग लक्षणहरुको उल्लेख गरिएको छ, जहाँ ५ किसिमको लामखुट्टे र तिनको टोकाइबाट हुने लक्षणहरु उल्लेख गरिएको छ, त्यस्ता लक्षणहरु डेंगु रोगमा पनि देखिन्छ। सुश्रुतले वर्णन गरेका ५ किसिमको लामखुट्टेहरुमा सामुद्र, परिमण्डल, हस्तिमशका, कृष्णा र पर्वतीय हुन्।

डेंगुको उपचार व्यस्थापन
डेंगु रोगको उपचार व्यस्थापनमा मुख्यतः यसको लाक्षणिक उपचार नै हो। त्यस बाहेक पर्याप्त मात्रामा झोल पदार्थको सेवन गराउनु तथा रगतमा प्लेटिलेट्सको मात्रा घट्न नदिनु यसको उपचारको मुख्य पक्ष हो। यस रोगको भाइरस विरुद्घ विशेष कुनै औषधि छैन। डेंगु रोगको जटिलता स्वरुप उत्पन्न हुने डेंगु हेमोरेजिक फिभरमा रोगीलाई रगत ट्रान्सफ्युजन पनि गर्नपर्ने हुन्छ। डेंगु सक सिन्ड्रोम को उपचार सुविधा सम्पन्न अस्पतालमा मात्र सम्भव हुन्छ।

डेंगु रोग र आयुर्वेद उपचार
डेंगु रोगको मुख्य लक्षणको रुपमा देखिने ज्वरो हो। आयुर्वेदमा ज्वर एउटा स्वतन्त्र व्याधि हो। ज्वरमा प्रयोग हुने जडिबुटी तथा औषधहरु डेंगु रोगमा प्रयोग गर्न सकिन्छ, साथै लाक्षणिक आधारमा मांसपेसी तथा हाड जोर्नी दुखाइ, वाकवाकी तथा रक्तश्राव आदिलाई विचार गर्दा वात, पित्त तथा कफ तीन वटै दोषको सन्निपातिक अवस्था भएकोले त्रिदोषशामक औषधहरुको प्रयोग गरिन्छ।

साथै नयाँ अध्ययन, अनुसन्धान अनुसार एन्टिफ्लामेटरी, एन्टिभाइरल औषध जडिबुटीहरुको प्रयोग गर्न सकिन्छ। भारत सरकार आयुष मन्त्रालय अन्तर्गतको काउन्सिल फर क्लिनिकल रिसर्च इन आयुर्वेद साइन्स (सिसिआरएस) ले क्षेत्रीय अनुसन्धान इकाई बेलगाम, कर्नाटकमा गुर्जो, मेवा, शूठो लगायतको समिश्रणबाट तयार गरिएको औषधिको पाइलट स्टडी सफलता पूर्वक सम्पन्न गरी विस्तृत अध्ययन सुरु गरेको छ।

त्यसैगरी एरन्डकर्कटी अर्थात् मेवाको पातको एक्सट्र्याक्टको प्रयोग प्लेटिलेट्स बढाइ डेंगु रोगको व्यवस्थापनमा अति प्रभावकारी भएको अनुसन्धानहरुले देखाएको छ, जस सम्बन्धी लेखहरु ब्रिटिस मेडिकल जर्नल तथा पबमेड लिस्टेड अन्य जर्नलहरुमा पनि प्रकाशित भइसकेको छ। आधुनिक चिकित्सा विज्ञानमा स्पेसिफिक उपचार नभएको अवस्थामा नयाँ अनुसन्धान अनुसार आयुर्वेद उपचार एउटा प्रभावकारी उपाय हुने निश्चित छ।

डेंगु रोगको उपचारमा प्रयोग हुने केही महत्वपूर्ण जडिबुटी
गुर्जो : यसले डेंगु रोगमा ज्वरो निको पार्नुको साथै श्वेत रक्तकोषिकाहरुलाई बढाउँछ।

प्रयोग विधि : 
– गुर्जोको पत्र तथा काण्डको स्वरस निकालेर १० देखि २० मिली सेवन गर्ने।
– गुर्जोको  काण्डको मसिनो टुक्रा पारी ५ देखि १० ग्राम लिएर १६ गुणा बढी पानीमा पकाएर १÷८ भाग पारी ४० देखि ८० मिली बिहान–बेलुका सेवन गर्ने।
सुठो : यसले पाचन प्रणालीलाई दुरुस्त पारी ज्वरो ठिक पार्नुको साथै छालामा हुने बिमिराहरु ठिक पार्छ। साथै जोर्नी दुख्ने समस्यामा लाभ हुन्छ। १ देखि २ ग्राम सुठो चुर्ण मनतातो पानीसँग प्रयोग गर्नुपर्छ।

तुलसी : यसले जीवाणु र विषाणु प्रतिरोधीको रुपमा कार्य गर्दछ।

प्रयोग विधि : १० वा १२ वटा पात र २ वा ३ वटा मरिच १ ग्लास पानीमा चिया जस्तै पकाएर खाने।

मेथी : यसले ज्वरो र दुखाइ निको पार्छ ।
प्रयोग विधि  ः २ देखि ३ ग्राम मेथी १ ग्लास पानीमा चिया जस्तो पकाएर खाने।

बेसार : यसले पनि जीवाणु प्रतिरोधि कार्य गर्दछ। यसले डेंगु रोगमा निस्किने बिमिराहरु निको पार्न मद्दत गर्दछ।
प्रयोग विधि :  १ ग्लास मनतातो दूधमा १ चम्चा बेसार हालेर खाने।

मेवाको पात : यसले विषाणु प्रतिरोधीको रुपमा कार्य गर्नुको साथै रगतमा प्लेटिलेट्स र श्वेत रक्तकोषिकाहरुको मात्रा बढाउने कार्य गर्दछ।

प्रयोग विधि : हरियो मेवाको पातको रेसा र डाँठ हटाएर जुस बनाई २० देखि ३० मिली दिनको २ वा ३ पटक सेवन गर्नुपर्छ। यो तितो हुने भएकोले जुस पिउनासाथ थोरैथोरै पानी खानुपर्छ।
– बजारमा मेवाको पातको एक्सट्र्याक्टबाट बनेका अनेक कम्पनीका क्याप्सुल, ट्याब्लेट तथा सिरपहरु पाइन्छन्, जुन खान सजिलो र रुचिकर हुन्छन्।
– यस बाहेक अमृतारिष्ट, गुडुची सत्व, महासुदर्शन चूर्ण, महारास्नादी क्वाथ, पटोलादी क्वाथ, एरन्डकर्कटी रसायन आदिको प्रयोग चिकित्सकको परामर्श अनुसार गर्न सकिन्छ।

डेंगुबाट बच्ने उपाय 
– घरमा तथा घर वरिपरि पानी जम्न नदिने।
– फोहोर जम्मा गर्ने भाँडोहरु छोपेर राख्ने।
– लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउनु पर्छ।
– घरमा प्रयोग भएको एयर कन्डिसन तथा रेफ्रिजेरेटरको पानी जम्मा हुने भागबाट पटकपटक पानी फाल्नुपर्छ।
– लामखुट्टेको टोकाइबाट बच्न हातखुट्टाको नढाकिएको भागमा निमको तेल लगाउने।

(डा. पुनेश्वर केशरी आयुर्वेद चिकित्सक हुन्)

प्रकाशित मिति October 2, 2019
Loading...