धर्म बेचेर जीवन उकास्न अभ्यस्त हुनेहरुको संख्या बढेर दशैं खल्लो बन्दै गैरहेको छ !

सञ्चार जगतको विकासले विश्वभरका मानिसलाई आत्मकेन्द्रित बनाइरहेको छ । विकसित देशहरु यसलाई पुनर्बिचार गर्न थालि सकेका छन् र ती देशका जनता सके हप्तामा एक पटक नसके महिनाको एकपटक र त्यो पनि नसके वर्षको एकपटक प्रकृतिसँग घुलमिल गर्न थालिसकेका छन् । हामीमा भने दोहोरो समस्या देखिएको छ । उपभोग गर्ने सबै कुरा ब्वाइलर हुँदै गएका छन्, अर्ज्ञानिक पाउनै छोडिसकेको अवस्था छ भने हामी आत्मकेन्द्रित हुँदै गएका छौं ।

 

दशैं जस्ता मौलिक चाडपर्वका मौलिकता खिइँदै गइरहेका छन् भने दक्षिणतिरबाट बहने हावाले यि चाडपर्वहरुलाई जोगीको खिचडी जस्तो बनाइरहेका छन् । यसमा थप बल डलरले गरिरहेको छ । “नेपालमा गरिब छैनन् अब” पनि भन्छन् अनि “गरिबलाई दशैं दशा बनिरहेछ” पनि भन्छन ।

हरेक देशका हरेक चाडपर्वहरु समय अनुसार स्वतः बदलिँदै जान्छन्, तर जस्ले त्यो चाडपर्व नै मान्दैन त्यसलाई बढी खिसिटिउरी गर्नु पर्ने हुँदो रहेछ । डाँडामा स्याल कराए पछि हामी पनि स्याल बनेर उसकै स्वर निकालेर कराउने गर्दछौं । पशुपति धाउने पनि गर्दछौं अनि बाहिर निस्केपछि अरु आफ्नै आस्थाका व्यक्तिले देख्छन् कि भनेर चन्दन पुछेर हिँड्ने गर्दर्छौ ।

यस्ता सोचले गर्दा नै चाडपर्वमा विकृति बढिरहेछ । ढिकी, जाँतो र नाङ्लोको आवाज नआएर वा नसुनिएर अनि खुल्ला स्थानमा रोटे पिङ, जाँते पिङ र लिंगे पिङ नदेखेर दशै नआएको जस्तो होइन कि कला, संस्कृति र धर्म बेचेर जीवन उकास्न अभ्यस्त हुनेहरुको संख्या बढेर दशैं खल्लो बन्दै गइरहेछ ।

प्रकाशित मिति October 3, 2019
Loading...