निबन्ध : मेरो विजयछाप सिन्धुली

विवश वस्ती – हरेक बिहानीलाई विनम्र स्पर्श गर्दै सूर्यले आफ्ना मौलिक आभा छर्न थालेपछि म निकै रोमाञ्चित हुन पुग्छु । मलाई बिहानी औधी मनपर्छ । एउटा सिङ्गो बिहानीले ग्रहण गर्ने सम्पूर्ण उत्सवसँग मेरो गहिरो साइनो गाँसिएझैँ लाग्छ ।

हुन पनि बिहानीलाई विभिन्न भू–सतह र परिधिबीच उभिएर छाम्ने अवसर भेट्टाएको छु मैले । तर अरू सतह र माहोलमा रमाएर मैले छामेको बिहानी मलाई कताकता फिका लाग्छन् ।
बिहानीको स्मृतिका हाँगाबिँगाहरू छाम्ने बित्तिकै म मेरो गाउँ विजयछापलाई सम्झिन्छु ।

गाउँबाट सदैव दृष्टिगोचर हुने, सौहार्द रूपमा उभिइरहेको गौरीशङ्कर हिमशृङ्खलालाई सम्झिन्छु र सम्झिन्छु– गौरीशङ्करको शिरबिन्दुमा पोखिएका घाममा प्रारम्भिक किरण–विम्बहरू ।

अहो ! म त्यो दृश्यको कसरी बयान गर्न सक्छु र ? गौरीशङ्करको सुरम्य र स्वप्नशील अङ्गहरूमा जब बिहानीलाई स्वागत गर्दै सूर्यका पहिला किरणहरू
घस्रिन्छन्, त्यो जति अद्वितीय, अद्भूत र स्पर्शनीय चिज अरू के नै हुन सक्ला र ? सूर्यका कलिला विम्बले गौरीशङ्करका मुलायम अङ्गअङ्गलाई क्रमशः चुम्न थाल्छन्, त्यतिबेला गौरीशङ्कर र सूर्य दुवै द्रविभूत भएको सहजै अनुमान लगाउन सकिन्छ । मानौँ, यी दुवै अजस्र विम्ब वर्षौंअघिका साथीसंगाती हुन् ।

गौरीशङ्कर मेरो हृदयको कुनाकाप्चामा सर्लक्क गडेर बसेको छ । भदौको घाम गडेझैँ । जुन क्षण मैले धर्तीमा पाइला टेकेँ, सम्भवतः त्यही क्षणदेखि नै गौरीशङ्करले मलाई मोहित तुल्याइसकेको थियो । त्यसको कलिलो छायाँले मेरो नवअङ्गलाई चुमिसकेको थियो । त्यही समयदेखि नै गौरीशङ्करको मोहजालबाट म उम्किन सकिनँ । उसको जादु र टुनामुनाले म लठ्ठिएँ । हो, जीवनका पूर्वाद्र्ध क्षणहरू मैले गौरीशङ्करलाई आफ्ना गाथाहरू सुनाउँदै बिताएँ । उसलाई घुक्र्याउँदै कटाएँ, ती दिनांशहरू ।

दूरीगत हिसाबले त टाढा नै थियो, गौरीशङ्कर । सुदूर उत्तरतिर । केटाकेटी छँदा उत्तरी दिशाबाट कर्याङकुरुङको बथान आउँथे र कहिलेकाहीँ चाहिँ बाज, बौँडाई र चिलहरू बेगिएर जान्थे, उत्तरतिरै । म सोच्थेँ, ‘अहाँ, चरी हुन पाए पो हुने ।

यी चरीहरू गौरीशङ्कर हिमालतिर पुग्छन् होला, त्यो हिमालको टुप्पोतिर मज्जाले बेग मार्छन् होला ।’ हो, मैले गौरीशङ्करको घनीभूत स्पर्श सदैव पाइरहेँ । त्यही हिमालको चिसो हावा पिएर बाँचिरहेँ । र त अहिले पनि गौरीशङ्कर मभित्र अटुट रूपमा टाँसिएको छ । मेरा अङ्गअङ्गमा, मेरा मोहभङ्गमा, मेरा तरङ्गतरङ्गमा गौरीशङ्करका विम्बहरू वर्षाद्को बेला एउटा धरातलदेखि अर्को धरातलसम्म सिङ्गो क्षितिजलाई चुम्दै टाँगिने इन्द्रेणीका हारहरूझैँ टाँगिएका छन् ।

गौरीशङ्करको अगाध प्रेम र स्नेह पाएर पुल्पुलिएको विजयछापमा मैले जीवनका उत्सुक, जिज्ञासु र स्वप्नहरूले भरिपूर्ण प्रथम पाइलाहरू सारेँ । मेरो सालनाल बगेको घरको मझेरी त अहिले मौजुद छैन । न त त्यो घर नै छ अहिले तर स्मृतिका विशाल फाँटहरूमा भने ती सुनौला धानका बाला भएर अहिले पनि उत्तिकै सौन्दर्यात्मक रूपले झुलिरहेका छन्, हावासँगै रमाएर बयेली खेलिरहेका छन् ।

सात–आठ वर्षको हुँदा म जन्मिएको घरको जग भत्काइयो र त्यही खण्डहर घरभन्दा ठीक माथि अर्को जग हालिएको थियो । नयाँ घरको जग । अझै त्यो पुरानो घर स्मृतिको पाखा–भित्तामा लहलहाउँछन्, प्याउली फूल लहलहाएझैँ । अझै म सम्झिन्छु, त्यो घरलाई । कुनै दिन बुबाको अनुशासनभित्र बाँधिन नसक्दा घुर्की लगाउँदै घरभन्दा पछाडिको पेटीमा उभिएर रोएको अहिले पनि सम्झिन्छु ।

घर पछाडि थियो– एउटा अम्बाको बोट । त्यही बोटभन्दा तल एउटा खोल्सा र बाटो थियो । घरमुनि चाहिँ थियो, जुनार र सुन्तलाको बगैँचा । एउटा लामो सुर्का बारीको सिमान्तमा रोपिएका थिए, ती फलफूलका बोटहरू । जब हिउँदका प्रथमकालीन दिनहरू प्रारम्भ हुन्थे, ती पहेँला रूपाकृतिमा पाक्न थाल्दथे । तिखा काँडाहरूसँग कुनै पर्वाह नगरी टिप्न लम्किन्थ्यौँ । टिप्थ्यौँ र खान्थ्यौँ सम्पूर्ण आँतलाई सन्तुष्ट तुल्याएर । अघाउँजी । अहो ! यो स्मृतिदंशको पीडा कतिसम्म झेल्नुपर्ने हो अझै ?

मलाई लाग्छ, अहिले पनि मभित्र एउटा बेग्लै अँधेरी खोला बगिरहेको छ । अविरल-अविकल । विजयछापको पुछार छँुदै बग्ने अँधेरी तर त्यो कुनै अँधेरी खोला थिएन । एउटा उज्यालो, चम्किलो र समृद्ध खोलाको नाम हो-थियो । तर कुन पण्डितले राखिदियो, अँधेरी ? यद्यपि, अँधेरीको निरन्तर प्रवाहसित मैले धेरैपटक आफ्नो जीवन–गतिलाई दाँजेको छु ।

सुनकोसीको बेगवान् छाल र प्रवाहसित लुट्पुटिन पुग्न आफ्नै सुर र लयमा प्रवाहित अँधेरीलाई हेरेर मैले आफ्ना जिन्दगीका बाटाहरू पहिल्याएको छु । अँधेरीको सङ्लो र निश्छल पानीमा अनुहारका विम्बहरू केलाउँदै मैले आफैतिर प्रश्नको धनुष–काँड सोझ्याएको छु– के म पनि तिमीजस्तै बग्न सक्छु, अँधेरी ?

तर, अँधेरी खोलासँग मेरो प्रश्नको जवाफमा गुन्गुनाउने कुनै भाका हुँदैनथ्यो । उनी मेरो भावुक र संवेदनशील प्रश्नसँगै बिलाउँथिन् र आफ्नो कुलकुल आवाजसँगै मेरो छेउमा सान्त्वनाका सुमधुर आलापहरू मात्र अलाप्थिन् । म रोमाञ्चित हुन्थेँ, उनको त्यस्तो शैली देखेर । अँधेरी किन यति हतारका पोकाहरू बोकेर बगिरहेकी छे ? मभित्र सदैव यही प्रश्न उब्जिन्थ्यो ।

महाभारत पर्वत शृङ्खलाको हावापानी र पर्यावरणीय चेत सँगालेर, गढी र गुप्ती पाखाका चिसा मनहरू छामेर र चपौली, चन्द्रमाने, लाम्पाते, बुदौरी, झाँक्री खोलालाई आफूभित्र समेट्दै उनी अविरल बगिरहन्थी । बाटोनिगाले, खानीनिगाले, फेदी, ठाँटी, सल्लेबास, बाराहा, पलाँसे आदि गाउँबस्तीको माया, मोह र स्नेह सँगाल्दै अँधेरीले आफूलाई सुनकोसीको गतिशील प्रवाहको साक्षी बन्ने सङ्कल्प उमार्नुमा म पनि कृतकृत हुन्छु ।

त्यसो त अँधेरीले मेरो आँतलाई चिनेको छ । अँधेरीले मेरो जिब्रोको स्वाद बुझेको छ । अँधेरीले मेरो पाउलाई भिजाएको छ । अँधेरीले मेरो अनुहार चुमेको छ । अँधेरीले मेरो औँलाको चाल थाहा पाएको छ । र, अँधेरीले मेरो गतिशीलताको गणित हल गरेको छ । विजयछापको पाउ चुम्दै बग्ने अँधेरीलाई मैले धेरै नै काली, गण्डकी, गङ्गा, जमुना, ऐरावती, अमेजन, ह्वाङ्हो, ब्रह्मपुत्रभन्दा समृद्ध ठानेको छु ।

अँधेरीलाई न त म अमेजनभन्दा कम ठान्छु, न त मिसिसिपीभन्दा पातलो नै । समग्रमा, अँधेरी मेरो अमेजन हो, नाइल हो, ह्वाङ्हो हो, ब्रह्मपुत्र हो, गङ्गा हो, भोल्गा हो, राइन हो । म त्यही अँधेरीको पानी पिएर, त्यसकै चिसो प्रवाहमा हातखुट्टा चोबलेर र त्यसकै प्रवाहलाई साक्षी राखेर जीवनका अप्ठ्यारा सजिला खुट्किलाहरू उक्लिएको हुँ ।

म अँधेरी खोलालाई सदैव सम्मानको शिखरमा चढाउँछु, श्रद्धा गर्दछु । भस्मेको पाखा त मेरो स्मृति–शिलामा गाढा ढङ्गले कुँदिएको छ । भस्मेसित मैले धेरै चिज लिएको छु । मैले त्यो रनवनलाई अतीव शोषण गरेको छु । हिउँदका चिसा दिनहरू लाग्दा नलाग्दै म भस्मेको काखमा लुट्पुटिन्थेँ र अमलाका स्वादहरूबीच रमाउँथे ।

अमलाका हाँगा–हाँगा चहारेर, त्यसका मसिना पातहरूसँगै स्नेह बाँडेर र उप्किँदै गरिरहेका बोक्रालाई छामेर म अन्त्यहीन स्वादमा लुट्पुटिन्थेँ । त्यही समय–रेखामा जङ्गली तरुल पनि फल्दथे, बग्रेल्ती । तथापि रुखासुक्खा जमिनमुनिबाट ती तरुल उधिन्न महाभारत नै छिचोल्नुपथ्र्यो तर जब त्यसको स्वाद जिब्रोले ग्रहण गर्दथ्यो, असीम आनन्दको सागरमा पौडिरहेको आभास मिल्थ्यो ।

सदावहार नै मलाई मीठा र स्वादिला फलफूल दिएर भस्मेको जङ्गल सन्तुष्ट देखिन्थ्यो । कहिले मछिना, कहिले ऐँसेलु, कहिले जामुन, कहिले फँडिर, कहिले घँगारु, कहिले कुराउनी, कहिले अँगेरी । अहो, के–के फलफूलले पो हार्दिक सत्कार गर्दथ्यो त मलाई । पाखा–भित्ता चहारेर जङ्गली प्राणीहरूभन्दा कुनै पनि अर्थमा फरक नभई जङ्गली फलफूल टिप्न बत्तासिन्थ्यौँ ।

अझै पनि भस्मेको जङ्गलका डेबर काँडाले दर्फराएका दागहरू होलान् मसित, अररी काँडाले कोतरेका खतहरू होलान् र होलान् मसित अझै अर्खुले कोट्याएका घाउका मसिना रूपहरू । हुन पनि मैले भस्मेका प्रत्येक अनुहार चिनेको छु, आत्मीयता साटाफेर गरेको छु र त्यो वनबाटिकामा लहराएका समृद्ध वृक्षहरूको हाँगा–हाँगामा अल्झिएर जीवन भोग्नुका तरङ्गहरू नियालेको छु ।

भस्मेसँगै टाँसिएर आउँछन्, अरू वन-उपवनहरू पनि । चाहे सौर रुख पाखा होस्, वा हुचिल पहरा र लाम्पाते पाखा । वा, चौतारा पाखा, जौ खोरिया, ढाड खोरिया, पँधेरा, नुनथला र स्वाँराकै पाखा किन नहोस्, मैले ती सबै उपवनमा आफ्ना सपनाहरू कोरलेको छु, हुर्किंदा विश्वासका फूलहरू गोडेको छु र रोपेको छु मनभित्रका उच्छवासहरू आभासहरू ।

थुम्काथुम्कीमा घण्टौँसम्म उभिएर तल–तलका दृश्यहरू आँखै टालिने गरी, आँखाको गेडी नै थाक्ने गरी हेर्नु मेरो अचम्मको सोख थियो । मैले भुरथुम्की, सल्लेबासको थुम्की, देउरालीको थुम्कीबाट तल–तल हेरेको छु । निकै तल । सबभन्दा प्रिय त भुरथुम्की नै लाग्थ्यो मलाई । त्यही थुम्कीबाट देखिन्थ्यो– हाम्रो घर, खेत, बारी । अझ त्योभन्दा पर देखिन्थ्यो– चपौलीको टुप्पो, गढीको डाँडा, रामेछापका भित्ताहरू, सैलुङ र उन्नत हिमचुलीहरूसमेत ।

घण्टौँसम्म भुरथुम्कीको थुम्कामा बसेर धेरै दृश्यलाई आँखाको क्यानभासमा पोत्ने अभिलासा संगाल्थेँ र अधिकांश त पूरा पनि हुन्थ्यो । त्यही बेला मैले थुमलाई विम्बको संसारमा उभ्याएर एउटा कविता–सोच उमारिसकेको थिएँ । कालान्तरमा त्यसले मूर्त रूप पायो र त्यसका केही हरफ त्यही भुरथुम्कीको डाँडामा उभिएर, वरिपरिका दृश्यहरूलाई नियाल्दै सस्वर वाचन गर्न मन लाग्दछ अचेल पनि मलाई ।

सल्लेबासको थुम्कीले पनि मलाई बारम्बार झक्झकाइरहन्छ । अचेल पनि सपनामा बोलाउँछ, त्यो थुम्कीले मलाई । र, आफूलाई उदासीको वृत्तमा उभ्याउँदै भन्छ, ‘खै, तिमी त आउनै छाड्यौ ? हरायौ कता, कहाँ ? के तिम्ले मेरो छातीमा पाकेका फँडिरका दानाहरू खाएको बिर्सियौ ? के तिम्ले मेरो निधारमा उभिएर सुसाउँदै बगिरहेको अँधेरीको सुसेलीलाई
भुल्यौ ? के तिम्ले सल्लाको रुखबाट चुहिरहेको खोटोलाई कोट्याएर त्यसको मगमगाउँदो वास्नालाई ग्रहण गरेको बिर्सियौ ?’ सल्लेबासमा रोपाइँमा रमाइरहेका गाउँलेका उत्साह र उमङ्गका एक–एक धर्सा त्यही थुम्कीमा बसेर कोर्न सकिन्थ्यो ।

अझ बर्सादको बेला त हुन्हुनिएर आउने अँधेरी खोलाको बाढीलाई नियाल्नुको रौनकता नै अर्कै हुन्थ्यो । पारिपट्टि सल्लाघारीले पूर्णतः ढाकिएको सल्लेरी वन, बाराहाको फाँट, पलाँसे र निकै तल सुनकोसीको बगरसित पौँठेजोरी खेलिरहेको खुर्कोटको फाँट पनि यदाकदा झुल्किन्थ्यो, सल्लेबासको थुम्कीमा बसेर नियाल्दा ।

अचेल भने कहिलेकाहीँ सपनामा म सल्लेबासको थुम्कीबाट कुनै फिनिक्स पक्षीझैकहिले तल–तल र कहिले निकै माथि–माथि उडिरहेको देख्छु । कहिले त माथि–माथि उड्दै जाँदा अत्यन्तै प्रचण्ड रापले भरिपूर्ण सूर्यको थाप्लोतिर उड्दै जान्छु । र, जब सूर्यको नजिक पुग्छु, मेरा पखेटा जल्न थाल्छन्, हुरहुर्ती ।

हेर्दाहेर्दै सूर्यको अजस्र तापले मेरो सम्पूर्ण शरीर जलेर खरानी–खरानी हुन पुग्छ । कति भयावह दृश्य । ऐंठनले घप्लक्क अँगालो हाल्न खोज्छ, त्यस्तो सपनासँग सङ्ग्राम हुँदा । तर त्यो खरानी फेरि खस्छ, त्यही सल्लेबासको थुम्कीनेरै । त्यही खरानीबाट फेरि जन्मिन्छु म, नयाँ फिनिक्स पक्षी जन्मिएझै। मलाई देख्नेहरूले चिच्याउँदै भन्छन्, ‘म्यान अफ रेजरेक्टेसन्’ ।

स्मृतिका चपरीहरू पर्लक्क पल्टाउँछु कहिलेकाहीँ । ती चपरीमा विजयछापका विम्ब–प्रतिविम्बहरू घनीभूत रूपमा प्रकट हुन्छन् । र, ती स्मृतिजन्य चपरीहरूमा ताजा र स्पन्दनशील माटोका छापहरू देखिन्छन् । माटोको बाक्लो र त्वरित् हरकले मलाई कुनै चुम्बकीय शक्तिले झैँ तान्छ, हठात् ।

बिथोल्छ मेरो संवेदना, चिन्तन र अनुभूतिका छेउ–कुनालाई । नराम्ररी । त्यस्तो क्षण म कताकता हतप्रभ हुन पुग्छु ।
धेरै हिउँद–वर्षा बिते । मैले विजयछापका काखमा आफ्नो शिर राख्न पाएको छैन, स्नेहपूर्वक । न बुदौरी खोलाको चिसो पानीले हर्हराएको आँत भिजाउन नै पाएको छु, न भस्मेको जङ्गल–जङ्गल कुदेर ओठ नै रङ्गिने गरी मछिना मिठ्याउन पाएको छु ।

न त अँधेरी र चपौली खोलाको दोभानमा खुट्टा चोपल्न नै पाएको छु र न त हिउँदका दिनमा सौर रुख पाखाका साना–ठूला वनस्पतिले आफ्नो शरीरबाट पातहरू खसालेर पतझड मौसमलाई हार्दिक स्वागत गरेको नै देख्न पाइरहेको छु तर विजयछापसँगको मेरो प्लेटोनिक (अशरीरी) प्रेम भने सदैव झाँगिइरहेको छ ।

त्यो यस्तो प्लेटोनिक प्रेम, जुन प्रेममा रमाउँदा प्रेमी आफ्नो नजिकै हुनुपर्छ भन्ने कुनै सैद्धान्तिक मान्यता छैन । प्रेमी जहाँ भए पनि चलिरहन्छ त्यो प्रेम । अकाट्य रूपमा, अविच्छिन्न रूपमा । एउटा उच्च भावनात्मक प्रेम ।

जुन प्रेमको सामु लैला–मजनुको प्रेम पनि अर्थहीन देखिन्छन् । अचेल म मेरो विजयछापलाई त्यही अशरीरी प्रेम गर्न व्यस्त छु ।

प्रकाशित मिति October 10, 2020
Loading...