दुई महिनामा वायुसेवा निगममा देखिने सुधार गर्छु : पौडेल

काठमाडौं, असोज २४ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा रहेका आन्तरिक समस्या तथा विसङ्गतिलाई समाधान गर्दै छिटै सुधार गर्ने महाप्रबन्धक डिमप्रकाश पौडेलले बताएका छन ।

बिहीबारमात्रै मन्त्रीपरिषदबाट महाप्रबन्धकमा नियुक्त पौडेलले निगमभित्र अनेकौँ चुनौती रहेकोले रातारात सम्भव नभए पनि क्रमशः सुधार गर्दै लैजाने बताए । कुराकानीका क्रममा उनले भने ‘निगममा धेरै विसङ्गति छन् भन्ने सुनेको छु । रातारात परिवर्तन त आउँदैन तर हप्ता दश दिनमा सुधारको सङ्केत आउने छ । एक दुई महिनामा त त देखिने गरी गरौँला भन्ने छ ।’

को भिडका कारण समग्र पर्यटन तथा नागरिक उड्ययन क्षेत्रमै चुनौती रहेको र निगमको हकमा पहिलेदेखि नै आन्तरिक चुनौती रहेकोले त्यसलाई समाधान गर्ने आफ्नो प्राथमिकता हुने उनको भनाइ छ । को भिडकै कारण अब थप क्षति नहोस् भन्नेमा ध्यान दिँदै यसबीचमै आन्तरिक सुधारलाई अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

आन्तरिक उडानमा घट्दै गइरहेको निगमको उपस्थितिलाई बलियो बनाउँदै लगिने उनले बताए । ‘नेपाल एयरलान्सप्रति जनताको एक किसिमको आशा भरोसा छ’ उनले भने ‘यसलाई कायम राख्दै दुर्गम क्षेत्रमा हवाई सेवा पुर्याउने राज्यको दायित्व पनि निगमले पुरा गर्नुपर्ने छ ।’

चार वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त पौडेलले नेपालीको धेरै उपस्थिति भएको ठाउँमा निगमको अन्तर्राष्ट्रिय उडान सेवा विस्तारमा पनि काम गर्नुपर्ने चुनौती रहेको बताए । अन्तर्राष्ट्रिय उडानका लागि अहिले निगमसँगै कम जहाज भएकोले यो चुनौती समाधान गर्नुपर्ने जिम्मेवारी रहेको पनि उनको भनाइ थियो ।

त्यस्तै निगमको बढ्दो ऋणलाई घटाएर अथवा सरकारको स्वामित्व निगममा बढाएर दायित्व कम गर्ने विषयमा पनि काम गर्नुपर्ने चुनौती रहेको उनले बताए । हाल निगमकै सञ्चालक समिति सदस्य रहेका पौडेल पेसाले चार्टड एकाउन्टेन्ट हुन भने उनी नेकपा कार्यकर्ता पनि हुन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 10, 2020
Loading...