नेपालीको भान्सामै अस्पताल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीवनरक्षाका लागि सरकार लागिपरेको बताएका छन् । एनआरएन विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरु रोग र भोकले मर्न नपरोस् भनेर सरकार प्रयासरत रहेको बताए ।

कोभिड–१९ को विश्वव्यापी महामारीको असर नेपालमा बढी नै रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नियन्त्रणको प्रयास जारी छ र अझै प्रभावकारी ढंगले प्रयास अघि बढाएर केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ ।’

कोभिड १९ का कारण एकातिर स्वास्थ्य समस्या र अर्कोतिर आर्थिक संकट उत्पन्न हन सक्ने स्थिति आउन नदिन सरकार लागिपरेको उनको दाबी छ । प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ । नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत छ ।’                                                                   

प्रधानमन्त्री ओलीले नेपालीको भान्सामै अस्पताल रहेको उल्लेख गर्दै भने, ‘हाम्रो भान्सामा अस्पताल छ । औषधीय गुण भएका मसलाका रुपमा खाइरहेका छौँ । घर–घरमा त्यसको प्रचलन बढ्दै गएको छ ।’ यसलाई ज्ञानको, गौरवको परम्पराका रुपमा बिस्तार गर्न जरुरी रहेको उनले बताए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 11, 2020
Loading...