कोरोना संक्रमित कैलालीका एसपीलाई काठमाडौं ल्याइयो

काठमाडौं, असोज २५ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

कोरोना संक्रमण भएका राणालाई आइतबार बिहान थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार उनलाई ज्वरो आउने,रूघाखोकी लागेपछि थप उपचारको लागि काठमाडौं पठाइएको हो।

‘संक्रमण देखिएपछि ज्वरो आउने-जाने हुने, रुघाखोकी अनि अरू लक्षण देखिएको छ,’ सिंहले भने,’लक्षणहरू कम नभएपछि थप उपचारको लागि आज काठमाडौं जानुभयो।’

राणाको गत आइतबार कोरोना परीक्षणको लागि स्वा ब झिकिएको थियो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको रिपोर्ट गत मंगलबार पोजिटिभ आएको थियो।

संक्रमण पुष्टि भएपछि उनी चिकित्सकहरूको सल्लाह लिएर आफ्नै क्वार्टरमा बस्दै आएका थिए। उनलाई काठमाडौंस्थित पुलिस अस्पतालमा लग्ने तयारी भएको वरिष्ठ उपरीक्षक सिंहले बताए।

‘अहिले बाटोमा हुनुहुन्छ। पुलिस अस्पतालमा लाने कुरा छ,’ उनले भने,’राति नौं-दश बजेसम्ममा पुग्नुहुन्छ।’

कैलालीमा अहिले सम्म दुई सय ४० जना प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ। त्यसमध्ये १४३ जना निको भइसकेका छन्।

९७ जनाको भने उपचार भइरहेको वरिष्ठ उपरीक्षक सिंहले बताए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 11, 2020
Loading...